
दीपक बोहरा
दाङ, ११ मङ्सिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हरीपौरीका अशोक कुमार शर्माले कुनै बेला आफूले पालेका मौरीकालागि बाहिरी देशबाट चाका ल्याउनु पर्थ्यो। कहिल्यै भारतबाट त कहिल्यै चीनबाट चाका ल्याएर मौरी पालन गर्नुपर्ने अबस्था थियो । तर, अहिले मौरीका चाका तयार गरेर आफूले पनि प्रयोग गर्ने गरेको र बाहिरी जिल्लामा पनि निर्यात गर्दै आएका छन् । “पहिले बाहिरबाट ल्याउथेँ”,उनले भने “तर,अहिले आफै चाका उत्पादन गरेर निर्यात गर्दै आएको छु ।”
उनले दाङसहित रुकुम पश्चिम, सल्यान, रोल्पा, प्यूठान, बाँकेलगायतका जिल्लामा निर्यात गर्ने गरेको बताए । शर्माले सञ्चालन गरेको आचार्य माहुरी कृषि तथा पशुपंक्षी फर्ममा ५० प्रतिशत अनुदानमा मेसिन ल्याएपछि यसरी चाका बनाउन थालेका हुन् । आर्थिक वर्ष २०८१/०८२ मा मेसिन ल्याएर चाका उत्पादन सुरु गरिएको हो । गएको बर्ष मात्रै १० क्वीन्टल आधार चाका उत्पादन भएको उनले बताए ।
यस वर्ष १५ क्वीन्टल जति उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताए । चाकालाई एक हजार रुपैँया किलोका दरले विक्री हुने गरेको छ । स्थानीय स्रोत साधनलाई प्रयोग गरेर चाका बनाउने गरिएको छ ।“हामीले भारत, चीनबाट ल्याउँदा रसायन भएको हुन्थ्यो”,उनले भने “तर, हामीले उत्पादन गरेका चाकामा त्यस्तो समस्या छैन, मौरीले पनि धेरै मन पराउछन् ।” चाका बाटै गएको बर्ष ५ लाख आम्दानी गरेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना(मौरी सुपरजोन) परियोजनाले ५० प्रतिशत अनुदानमा उक्त मेसिन उपलब्ध गराएको हो ।
मौरी पालनबाट पनि आम्दानी
उहाँले मौरी पालन पनि गर्दै आउनुभएको छ । २०६२ सालदेखि मौरी पालन गर्दै आएका उनले बार्षिक १५ क्वीन्टलसम्म मह उत्पादन गर्ने गरेको बताए । जसमा खुद आम्दानी बार्षिक पाँच लाखसम्म हुने गरेको छ । उनले मेलिफेरा जातको मौरी पालन गर्दै आएका छन् । ५० घार मौरी पालन गर्ने गरेको शर्माको भनाई छ । उत्पादन गरेको मह दाङसहित बिभिन्नि जिल्लामा निर्यात समेत हुने गरेको छ ।



लाइभदाङ । १२ मंसिर २०८२, बिहीबार २०:२४ बजे