राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह–निर्देशकमा डा. खनाल र सहायक मेट्रोनमा न्यौपाने

दाङ, २७ असोज।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लेक्चरर डा. निरोज खनाललाई सह–निर्देशक र नर्सिङ अधिकृत बिनु न्यौपानेलाई सहायक मेट्रोनको जिम्मेवारी तोकेको छ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालद्वारा जारी पत्रअनुसार डेन्टल विभागका लेक्चरर डा. निरोज खनाललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ को दफा २४ तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन, काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधा सम्बन्धी) नियमावली, २०७४ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि सह–निर्देशकको जिम्मेवारी तोकिएको हो।
पत्रमा प्रतिष्ठानको सर्वोपरी हितलाई ध्यानमा राख्दै तोकिएको जिम्मेवारी इमानदारी र वफादारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।


त्यस्तै, प्रतिष्ठानको शिक्षण अस्पतालअन्तर्गत नर्सिङ अधिकृत बिनु न्यौपानेलाई सहायक मेट्रोनको कार्यभार सम्हाल्ने गरी अतिरिक्त जिम्मेवारी तोकिएको छ। प्रतिष्ठानले जारी गरेको पत्रमा नर्सिङ अधिकृतका रूपमा हालसम्म उनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

दुवै पत्रमा रजिस्ट्रार प्रा.लम्सालले हस्ताक्षर गरेका छन्।