
दाङ,२५ असोज ।
बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौँ साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन संस्थाका सचिव यादवप्रसाद शर्माले गर्नुभएको थियो।
कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख प्रकाश जग साह प्रमुख अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, वडा अध्यक्ष रामप्रसाद चौधरी र राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष एवं घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसीको पनि उपस्थिति रहेको थियो।
सभामा लेखा संयोजक प्रकाशचन्द्र घिमिरे, सल्लाहकारहरू बसन्तराज अधिकारी, फर्साराम नेपाली, नारायण राना, दानमाया शाही, खिमा अधिकारी र जयन्ता सिंह तामाङलगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रकाश जग साहले जिल्लामा खानेपानी व्यवस्थापनका क्षेत्रमा बजेट अभाव र जनशक्ति कमीका कारण समस्या देखिएको बताउनुभयो। उहाँले दाङ जिल्लामा खानेपानीको गुणस्तर सुधारका विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, विशिष्ट अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी क्षेत्रलाई प्राथमिकतामा नराख्दा नागरिकको मौलिक अधिकार प्रभावित भएको बताउनुभयो। सरकारले बजेट विनियोजन गर्दा खानेपानी क्षेत्रका लागि दुई प्रतिशत बजेटसमेत नछुट्याएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
ओलीले विद्युत् महसुलमा समेत उपभोक्ताले २० देखि ३९ प्रतिशतसम्म योगदान गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै खानेपानी क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराउनुभयो। उहाँले उपभोक्ता समितिको खारेजी तथा उद्घाटनसम्बन्धी कानुनी व्यवस्थाप्रति पनि विरोध जनाउनुभयो।
सभामा संस्थाका सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।



लाइभदाङ । २५ आश्विन २०८३, आईतवार २१:३१ बजे