
दाङ, २६ असोज ।
महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, सौडियारको आठौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष प्रेमदेवि डाँगीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुराम आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।
उक्त साधारणसभा तथा अधिवेशनले लक्ष्मी शाहको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा सुशिला चौधरी, सचिवमा नारायणी पन्त र कोषाध्यक्षमा रमाकुमारी शर्मा चयन हुनुभएको छ। यसैगरी सञ्चालक समितिको सदस्यहरूमा देवका गौतम, अन्जना चौधरी, माया बुढाथोकी, बिर्सना चौधरी र गोमा श्रेष्ठ रहनुभएको छ।
अधिवेशनले लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ, जसको संयोजकमा उमा कुमारी चौधरी दमाई र सदस्यहरूमा रिता कुमारी चौधरी तथा मिना कुमारी सिजवाल चयन हुनुभएको छ।
विभिन्न विधामा सम्मान तथा राहत वितरण
साधारणसभाको अवसरमा संस्थाले आफ्ना उत्कृष्ट बचतकर्ता, उद्यमी कृषक, एकल महिला, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका सदस्यहरूलाई सम्मान तथा सहयोग प्रदान गरेको छ।
बाल बचतकर्ता पुरस्कार: बालबालिकाहरूमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले उत्कृष्ट बाल बचतकर्ताका रूपमा ४ जना बालबालिकालाई पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेहरूमा रोशिका खनाल, सुप्रिया पोख्रेल, सबिन चौधरी र प्रसान्त पुन मगर हुनुहुन्छ।
उद्यमी कृषकलाई उपकरण: कृषि क्षेत्रको प्रवर्द्धनका लागि संस्थाका ८ जना तरकारी खेती गर्ने कृषक सदस्य र ७ जना पशुपालनमा संलग्न सदस्यहरूलाई उहाँहरूको व्यावसायिक आवश्यकता अनुसारका कृषि तथा पशुपालनसम्बन्धी उपकरणहरू वितरण गरिएको छ।
ज्येष्ठ नागरिक र एकल महिला सम्मानस् संस्थामा आबद्ध ३ जना एकल महिला सदस्य र १४ जना ज्येष्ठ नागरिक सदस्यहरूलाई विशेष सम्मान गरिएको थियो। सहानुभूति तथा आर्थिक सहयोगस् अधिवेशनको अवसरमा संस्थाकी १ मात्र दृष्टिविहीन सदस्य शोभा अधिकारीलाई प्रोत्साहनस्वरूप नगद सहयोग प्रदान गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्णुराम आचार्यले साना किसान महिला सहकारीले स्थानीय तहमा महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता र कृषि क्रान्तिमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रमका अन्य वक्ताहरूले नयाँ निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थालाई अझ पारदर्शी र उँचाइमा पुर्याउन आग्रह गर्नुभयो।



लाइभदाङ । २६ आश्विन २०८३, सोमबार १९:५९ बजे