
तुलसीपुर, २७ असोज ।
दाङको तुलसीपुरका थारु अगुवा सख्या नाच संरक्षणमा जुटेका छन् । सोमबार तुलसीपुरमा ‘डस्यक’ (दसैँ) तथा थारु संवत २६४९ को अवसरमा सोमबार सख्या/पैया नाच प्रर्दशन गरिएको थियो । मटावा बरघर भलमन्सा संघ तुलसीपुर, नमुना भुइँह्यार थान संरक्षण समिति तुलसीपुर र थारु कल्याणकारिणी सभा दाङ–३ र तुलसीपुर नगर स्तरीय समितिको संयुक्त आयोजनामा दाङको जबरपुरमा उक्त कार्यक्रम भएको हो ।
मटवा बरघर भलमन्सा तुलसीपुरका अध्यक्ष बुझौना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पछिल्लो समय थारु समुदायका हरेक पहिचानहरु हराउन थालेको भन्दै संरक्षण गर्न तर्फ सबै लाग्नु पर्ने बताए । उनले थारु समुदायलाई पर्यटनसंग जोड्न सकिने बताए ।
त्यस अवसरमा थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद श्रमलाल चौधरी, थारु राजा दंगीशरण संरक्षण समितिका अध्यक्ष जनकुलाल चौधरीलगायत थारु अगुवाहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
नमुना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नकालागि यस्तो कार्यक्रम गरिएको बताए । यसले सख्या नाचलाई जोगाउन मद्दत गर्ने उनको भनाई थियो । लोप हुन थालेका थारु समुदायका संस्कार, संस्कृति जोगाउन आफूहरु सधै लागिरहेको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण नारायण चौधरीले गरेका थिए ।
के हो सख्या नाच ?
दिनभर खेतबारीको काम सकेपछि साँझपख बडघर वा मटावाँको घरआँगनमा भेला भई मादल र मञ्जिराको तालमा नाच्ने गरिन्थ्यो । परम्परागत थारू मौलिक पहिरनमा सजिएका महिलाहरू दुई समूहमा विभाजित भएर हातमा मञ्जिरा बजाउँदै सामूहिक रूपमा नाच्ने र महाभारतको कथामा आधारित सख्या गीत गाउने चलन थियो । नाचमा मुख्य अगुवालाई ‘मोहिन्या’, दोस्रो अगुवालाई ‘पछगिन्या’ र अन्य सहभागी युवतीहरूलाई ‘बठिन्या’ भन्ने चलन थियो । यो नाचमा पुरुषहरूले ‘मन्डर्या’९मादले० बनेर मादलको तालमा साथ दिन्छन् ।
भदौको ‘हार्या गुरै’ पूजादेखि सुरु भएर बडादसैँ सकिएको एक सातासम्म चल्ने गथ्र्यो । नाच अघिपछि रातको समयमा र नवमीदेखि टीकाको दिनसम्म भने दिउँसै नाच्ने परम्परा रहेको छ।



लाइभदाङ । २७ आश्विन २०८३, मंगलवार ०६:१८ बजे