भारत-चीन सिमानामा ४५ वर्षपछि पहिलोपटक गोली चल्यो, सैन्य तनाब उस्तै

बेइजिङ : भारतसँगको विवादित सीमाक्षेत्र लद्दाखमा गोली प्रहार भएको घटनाको दोष चीनले भारतीय सेनालाई लगाएको छ ।

भारतीय सेनाले चीनलाई गोली प्रहार गरेको आरोप लगाएपछि चीन सरकारले विज्ञप्ति निकालेर उक्त आरोप अस्वीकार गरेको हो । साथै भारतीय सेनाले नै पहिले सिमानाबाट गोली चलाएको चिनियाँ अधिकारीले जनाए ।

चीनको विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखामा सोमबार भारतीय सेनाले नै पहिले गोली चलाएको दावी गरेको हो । दुई देशका सैनिक कमाण्डरबीच वार्ता भइरहँदा भारतीय सेनाले चुनौतीस्वरुप गोली चलाएको चिनियाँ अधिकारीको आरोप छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित प्रेस ब्रिफिङको क्रममा एलएसीमा भारतीय सैनिकहरुले चेतावनी दिनका लागि गोली चलाएको बताइन् । कमाण्डर तहमा कुराकानी भइरहँदा भारतीय सेनाले गोली चलाएको चिनियाँ दावी छ ।


चिनियाँ प्रवक्ताका अनुसार १९७५ पछि (४५ वर्षपछि) चीन र भारतको सीमाक्षेत्रमा पहिलो पटक गोली चलेको हो । तर चीनले दुई देशबीच मतभेदलाई शान्तिपूर्ण रुपमा कसटनीतिक तथा सैन्य वार्ताको माध्यमबाट समाधान गरिनुपर्ने बताएको छ ।

भारतीय सेनाले भने यसअघि नै लद्दाखमा सोमबार भएको गोलीबारी चिनियाँ सेनाले पहिले गरेको दावी गरेको थियो । चिनियाँ सेनाले सीमाबाट पहिले भारततर्फ हवाइ फायरिङ गरेको भारतीय सेनाको दावी छ । आफूहरु संयम भएर बसिरहँदा चिनियाँ सेनाले उत्तेजित बनाउने वातावरण सिर्जना गरेको भारतीय सेनाको आरोप छ ।

यसअघि पटक पटक दुई देशका सेनाबीच झडप र निशस्त्र भीडन्त भए पनि सिमानाबाट गोली चलाइएको ४५ वर्षपछि यो पहिलो घटना हो । दुबै देशका सेनाले आपसमा आरोप प्रत्यारोप लगाएकाले कुन देशका सेनाले गोली चलाउन सुरु गरेको भन्‍ने बारे विस्तृतमा सार्वजनिक भएको छैन ।