वैदेशिक रोजगारीमा रहेका तुलसीपुरका ३६ वर्षीय टेकराज मल्लको निधन

दाङ, २६ असोज ।
वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका तुलसीपुरका टेकराज मल्लको निधन भएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ भलाक्चा लाहु स्थाई घर भई हाल तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा बस्दै आउनुभएका ३६ वर्षीय मल्लको असोज १८ गते मलेसियामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दश वर्षदेखि परिवारको खुसी र उज्ज्वल भविष्यको सपना बोकेर परदेशमा पसिना बगाइरहनुभएका टेकराज मल्ल अब कहिल्यै घर नफर्किने गरी अस्ताउनुभएको छ । परिवारका अनुसार बिरामी भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा तीन दिनसम्म उपचार गराउनुभएका मल्लको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससम्बन्धी समस्या देखिएको थियो ।


मल्ल वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको करिब १० वर्ष पुग्न लागेको थियो । लामो समयदेखि परिवारबाट टाढा रहेर श्रम गरिरहनुभएका उहाँ अब तीन महिना मात्रै काम गरेर स्वदेश फर्किने योजनामा हुनुहुन्थ्यो । गत वर्ष दशैं–तिहार मनाउन घर आउनुभएका मल्ल यसपटक पनि तीन महिनापछि नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो ।

मल्लका घरमा श्रीमती, दुई छोरा तथा आमाबुबा हुनुहुन्छ । परिवारको सहारा र भविष्यका आशा मानिनुभएका उहाँको असामयिक निधनले परिवारलाई शोकमा डुबाएको छ । उहाँको पार्थिव शरीर नेपाल ल्याउन लाग्ने सम्पूर्ण खर्च सम्बन्धित कम्पनीले नै बेहोरेको परिवारले जनाएको छ ।

मल्लको पार्थिव शरीर आज तुलसीपुर ल्याइने र आजै दिउँसो तुलसीपुर उपमहानगरपालिका–१२ स्थित शीतलपुरघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।