
तुलबहादुर कवँर मगर
मसुरिया,३० जेठ ।
दाङको राप्ती गाउँपालिकामा सञ्चालित ‘पोषणमार्फत् जीवन रूपान्तरण परियोजना’ अन्तर्गत कुपोषण न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण र विपन्न परिवारको जीविकोपार्जन सुधारका लागि सञ्चालन भइरहेका कार्यक्रमहरूको शनिबार स्थलगत अनुगमन गरिएको छ।
हेलेन केलर इन्टरनेसनल र आईडीई नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको साझेदारी तथा राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनाअन्तर्गतका गतिविधिको गाउँपालिका अध्यक्ष तथा परियोजना सल्लाहकार समितिका अध्यक्ष प्रकाश विष्ट नेतृत्वको टोलीले अनुगमन गरेको हो।
अनुगमन टोलीले वडा नम्बर २ अन्तर्गत लालमटिया, कठाहा लगायतका क्षेत्रमा सञ्चालन भएका कुखुरा पालन, माछा पालन, घोंगी पालन, गड्यौला मल उत्पादन तथा अन्य साना उद्यमका गतिविधिको अवलोकन गर्नुका साथै लाभग्राही परिवारसँग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो।टोलीले कार्यक्रमबाट प्राप्त उपलब्धि, देखिएका चुनौती तथा आगामी सम्भावनाबारे जानकारी लिएको थियो।
बेस नेपालका कृषि तथा पोषण अधिकृत मनोज चौधरीका अनुसार परियोजनाले ६ देखि ५९ महिनासम्मका बालबालिका, गर्भवती महिला तथा स्तनपान गराइरहेका आमाहरूलाई लक्षित गरी पोषण सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। कुपोषणको जोखिममा रहेका परिवारलाई पोषणसँगै आयआर्जनका अवसरमा जोडेर दिगो जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले परियोजना कार्यान्वयन भइरहेको उहाँले बताउनुभयो ।
राप्ती गाउँपालिकालाई कुपोषणमुक्त पालिका बनाउने लक्ष्यसहित ९ वटै वडामा परियोजना सञ्चालन भए पनि कुपोषणको जोखिम बढी रहेका वडा नम्बर २, ५ र ९ मा पोषण संवेदनशील तथा जीविकोपार्जनमुखी कार्यक्रमहरू विशेष प्राथमिकताका साथ लागू गरिएको छ। परियोजनाले ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्थाको नियमित अनुगमन तथा लेखाजोखा गर्दै आवश्यक परामर्श र सहयोग प्रदान गर्दै आएको छ। यसबाट बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाई स्वस्थ, सक्षम र जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
परियोजनाले स्थानीय तहसँगको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुधारका क्षेत्रमा समेत काम गरिरहेको छ। पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थमा पहुँच विस्तार गर्न घर तथा करेसाबारी स्थापना, व्यवस्थापन तालिम, नर्सरीका लागि बिउ तथा सामग्री सहयोग, दिगो खेती प्रविधिबारे जानकारी तथा असल कृषि अभ्यास प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
त्यस्तै विपन्न परिवारलाई कुखुरा पालनका लागि चल्ला तथा आवश्यक सामग्री, टनेलसहितको विषादीरहित तरकारी खेती, सरसफाइ सामग्री, उन्नत बिउबिजन, हरमेटिक ब्यागलगायतका सामग्री उपलब्ध गराई जीविकोपार्जनमा सहयोग पुर्याइँदै आएको छ। साथै उत्पादित कृषि तथा पशुजन्य वस्तुको बजारीकरणमा समेत सहजीकरण गरिँदै आएको परियोजनाले जनाएको छ। परियोजना अन्तर्गत स्वच्छ खानेपानीमा पहुँच विस्तार गर्न घरपरिवारलाई पानी फिल्टर वितरण, विभिन्न विद्यालयमा विद्युतीय फिल्टर जडान तथा वडा नम्बर ५ स्थित भुल्के गाउँलाई नमुना पोषणमैत्री गाउँका रूपमा विकास गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
अनुगमनपछि गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पोषण सुधार स्वास्थ्य क्षेत्रको मात्र विषय नभई कृषि, आयआर्जन, खाद्य सुरक्षा, सरसफाइ र जनचेतनासँग प्रत्यक्ष रूपमा जोडिएको बहुआयामिक विषय भएको बताउनुभयो। स्थानीय सरकार र विकास साझेदार संस्थाबीचको सहकार्यबाट सञ्चालन भएका कार्यक्रमले कुपोषण न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षामा सुधार तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो। परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी,विभिन्न वडाका वडा अध्यक्षहरू, गाउँपालिकाका कर्मचारी तथा परियोजनामा आबद्ध कर्मचारीहरूको सहभागिता रहेको थियो।



लाइभदाङ । ३० जेष्ठ २०८३, शनिबार २१:३५ बजे