
दाङ, २५ असोज ।
विभिन्न जातजाति र संस्कृतिको झल्को दिने परम्परागत भेषभूषामा सजिएका विद्यार्थीहरू मञ्चमा गीत, साहित्यिक रचना र विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिरहेका थिए। यही साङ्गीतिक र उल्लासमय वातावरणका बिच दाङ टेक्निकल इन्स्टिच्युट प्रालिले शनिबार आफ्ना सामान्य चिकित्सा (एचए) र ल्याब पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत तथा अध्ययन पूरा गरेका तेस्रो वर्षका विद्यार्थीहरूलाई बिदाइ गरेको छ। केवल एउटा औपचारिक कार्यक्रममा मात्र सीमित नरही यो समारोह स्वदेशमै सम्भावना खोज्न, सीपयुक्त बन्न र स्वास्थ्य क्षेत्रमा अनुशासित एवं जिम्मेवार जनशक्ति तयार पार्ने प्रेरणादायी चौतारी बनेको थियो।
प्रालिका अध्यक्ष दोर्ण वलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लुम्बिनी प्रदेशका उपनिर्देशक यादव सुवेदीले व्यवहारिक र सीपयुक्त शिक्षाबाट मात्र व्यक्ति आत्मनिर्भर बन्न सक्ने बताए । पछिल्लो समय युवाहरूमा वैदेशिक रोजगारप्रतिको आकर्षण बढिरहेका बेला उनले विद्यार्थीहरूलाई विदेश जाने मोह त्यागेर स्वदेशमै सम्भावनाहरू खोज्न र आफ्नो सीप तथा दक्षताको सही सदुपयोग गर्न आग्रह गरे ।
त्यसैगरी तुलसीपुर सिटी हस्पिटल प्रालिका अध्यक्ष बिमल रिजालले सही र गलत काम छुट्याउन सक्ने क्षमताको विकास गर्दै समय र परिस्थितिअनुसार आफूलाई परिवर्तन गरेर अघि बढ्नुपर्नेमा जोड दिए । राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका अध्यक्ष हरिप्रसाद रिजालले घरपरिवारबाट प्राप्त संस्कारलाई व्यवहारमा उतार्दै जिम्मेवार बन्न र समयको महत्त्व बुझेर काम गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।
तुलसीपुर सिटी हस्पिटलका प्रबन्ध निर्देशक हेमराज बस्नेतले स्वास्थ्य क्षेत्रमा अझै पनि दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई आवश्यक सीप र ज्ञान हासिल गरी दक्ष स्वास्थ्यकर्मीका रूपमा तयार हुन आह्वान गरे ।
कार्यक्रममा पत्रकार दीपक बोहराले एचए भनेको गाउँका डाक्टर रहेको भन्दै पेशाप्रति सम्वेदनशील हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा शैक्षिक वातावरणबारे अनुभव साट्दै तेस्रो वर्षमा अध्ययनरत छात्रा चेतना वलीले शैक्षिक सिकाइका दृष्टिले दाङ टेक्निकल इन्स्टिच्युट उत्कृष्ट रहेको बताइन् ।
मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरूले भरिपूर्ण रहेको उक्त कार्यक्रमको सहजीकरण प्रधानाध्यापक अशोककुमार यादव र सामान्य चिकित्सा दोस्रो वर्षमा अध्ययनरत छात्रा विधिका वलीले गरेका थिए ।



लाइभदाङ । २५ आश्विन २०८३, आईतवार ०६:५२ बजे