दुलही भित्र्याए झै पञ्चेबाजासंगै भित्र्याईयो तीन ‘लक्जरी बस’

दीपक बोहरा
दाङ, २६ असोज ।
अगाडि–अगाडि घन्किएको पञ्चेबाजाको मधुर धुन । पछाडि–पछाडि लामबद्ध भएर आउँदै गरेका नयाँ र चमकधमकपूर्ण तीन वटा अत्याधुनिक लक्जरी बस। दृश्य हेर्दा लाग्थ्यो— कुनै भद्र घरानाकी दुलहीलाई नौलो घरमा भित्र्याउन रातो गालैँचा र बाजागाजासहित स्वागतको उत्सव चलिरहेको छ ।

तर, त्यो थियो– दाङमा भित्रिएका तीन वटा नयाँ बस । जुन बसमा‘ एकल सिट’ छन्, भने शौचालयको ब्यबस्था पनि छ । त्यस्ता बस दाङमा पहिलो पटक भित्रिएपछि यसरी गाजावाजा सहित स्वागत गरिएको हो ।

अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले भित्र्याएका ती बसहरुको आईतबार यसरी स्वागत गरि सेवा सुरु गरिएको हो ।

प्रालिका अध्यक्ष घनश्याम बस्नेतका अनुसार ‘ट्रिपल सिंगल’ सिट लेआउट भएका गाडीहरुमा एयर कन्डिसनर, एयर सस्पेन्सर, अक्सिजन र सिलिपरका साथै अत्याधुनिक बाथरुमको समेत सुविधा रहेको छ ।


खासगरी महिलाहरुमा एक्लै यात्रा गर्दा समस्या हुने भएकाले यस्तो सिटले निकै सहज बनाउने अध्यक्ष बस्नेतको भनाई छ । यसमा प्रयोग गरिएका सिटहरू थाइल्यान्डबाट मंगाइएका हुन् ।

एक करोड १० लाख लागतमा यसरी गाडीहरु भित्र्याईएको प्रालिका कोषाध्यक्ष भिमबहादुर केसीले बताए । यात्रुहरुबाट सुझाब आएपछि यसरी यस्ता बसहरु भित्र्याएको उनको भनाई छ ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य भुवन भुषालले नेपालकै महँगा र उत्कृष्ट गाडीहरू दाङमा सञ्चालनमा आउनु खुसीको कुरा रहेको बताए । अत्याधुनिक सुविधा भएका यस्ता गाडीमा यात्रा गर्ने यात्रुहरूलाई सम्मानजनक व्यवहार गर्न र तोकिएको समयमा सफा ठाउँमा गुणस्तरीय खाना खुवाउन समेत आग्रह गरे ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले तोकिएको भाडादरमा काउन्टरबाट मात्रै टिकट काट्ने व्यवस्था मिलाउन, यात्रु ठगिने वातावरण बन्न नदिन र सुरक्षा मापदण्ड पूर्ण पालना गर्न आग्रह गरे । ती गाडीहरु पहिलो चरणमा दाङ–काठमाडौं चल्नेछन् । जसको भाडा दुई हजार पाँच सय रहेको छ ।