दाङमा बस्नेत दम्पतिमाथि चक्कु प्रहार

दाङ, ६ मंसिर ।
दाङमा बस्नेत दम्पतिमाथि चक्कु प्रहार भएको छ । बिहीबार बिहान करिब साढे ९ बजेको समयमा दम्पती माथी चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताहरूले मिटर व्याज लिएर सर्वसाधारण ठगेको आरोप लगाउँदै घोराही उपमहानगरपालिका वडा नं.१५ का धर्मबहादुर बस्नेत र उहाँकी श्रीमती माधवा बस्नेतलाई चक्कु प्रहार गरेका छन् । ५/७ जनाको समूहमा आएका उनीहरूले घोराही उमनपा –१५ बीपी चोक नजिकै समातेर दुबै जनाको नाकको माथिल्लो भागमा चक्कुले प्रहार गरेर भागेको पीडितले बताएका छन् ।

नाकको माथिल्लो भाग काटिएर घाइते भएका बस्नेत दम्पतीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुनकुमार तिमिल्सिनाले बताउनुभयो । घटनामा संलग्न रहेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिनुभयो ।


उता नेकपा (बहुमत) दाङका सेक्रेटरी अमरले मिटरब्याज लिएर सर्वसाधारणको उठिवास लगाएको आरोप लगाउँदै बस्नेत दम्पती माथि पार्टीले कारबाही गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभयो । सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, पीडितहरूलाई आत्महत्या गर्नेसम्मको स्थितिमा पुर्‍याएको आरोप बहुमतको छ । बहुमतले १५ दिन भित्र जनताको घर जग्गा र चेक अनादरका मुद्दा फिर्ता गर्न चेतावनी समेत दिएको छ ।