राज्यमन्त्री बिमलाले भनिन्‘एकराज एक हप्तादेखि सम्पर्कमा नआएपछि घरमै जान बाध्य भएँ’

दाङ
१ असार / दाङको तुलसीपुर ५ बसपार्क स्थित वाईसिएल नेता एकराज बस्नेतको श्रीमति र छोरी माथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले बास्तविकता भने फरक रहेको बताएकी छिन् । उनले लाईभ दाङलाई प्रतिक्रिया दिदै आफू एकराजसंग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनकालागि यस्तो प्रपण्च गरेको बताएकी छिन् ।

उनका अनुसार वाईसिएल नेता एकराज बस्नेतसंग पैसाको कारोबार थियो । त्यो कारोवार मिलाउनकालागि एकराजसंग एक हप्तादेखि छलफल भइरहेको थियो । फोनमा कुरा भएपनि एक हप्तादेखि सम्पर्कमा नभएपछि विमला घरमै जान बाध्य भइन ।‘एकराजले मेरो पैसा सापटी लिएको, त्यही पैसाको कारोवारकालागि म घर गएकी थिएँ’,उनले भनिन्‘फोनमा त कुरा भइरहेको थियो, तर, एक हप्तादेखि भेट हुन सकेको थिएन ।’

बिमलाका अनुसार एकराजकै घर जाँनु भन्दा केही समय अघिसम्म पनि फोनमा कुरा भइरहेको थियो । जब उनी घरमा पुगिन त्यसपछि एकराजलाई भेटाउन नसकेको मन्त्री विमलाको भनाई छ ।‘जब म घरमा पुगेँ, त्यहाँ एकराज नभेटिएपछि, “खोइ ! एकराज भनेर सोधेकी हुँ’, विमलाले भनिन्‘ भर्खरै फोन भएको,अहिले पनि सम्पर्क हुँदैन भनेर मैले भनेँ ।’


त्यसपछि स्वास्नीले दाई(जेठाजु)लाई बोलाएको विमलाले बताईन् । जेठाजु बीरेन्द्र बस्नेतसहित घर परिवार र छिमेकी आए । उनीहरु आएपछि भित्रबाट घरको गेटमा चुक्कुल लगाए । चुक्कुल लगाएपछि बीरेन्द्रले आफूलाई गालीगलौज गरेको बताएकी छिन् ।‘विरेन्द्र आएपछि भित्रबाट चुक्कुल लगाए, त्यसपछि नानाथरी गालीगलौज गरे, अप शब्द बोले, एक पटक विरेन्द्र पिट्न पनि उठेकाथिए, त्यतिबेला, पिएसओ र मीनाका ससुरा वुवाले छेकेपछि पिट्नबाट रोकिए’, राज्यमन्त्री वलीले भनिन्‘ त्यतिेबला उल्टै मलाई एक करोड हिनामिना गरेको, सुन चोरेको सम्मको आरोप पनि लगाए ।’

एकराजकी श्रीमति र आफूबीच तानातान हुँदा आफ्नो पनि चुरा फुटेको बताईन् । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप छ ।

आफ्नो एकराजसंग मात्रै काम भएकाले त्यही अनुसार त्यहाँ गएको राज्यमन्त्री वलीले बताईन् । एकराजकी श्रीमति मिनाले भने आफू र छोरीलाई कुटपिट गरेको बताएकी छिन् । सोही अनुसार उनीहरुले मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् । अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई बुटवल लगिएको छ । तर, उनी प्रहरी कै निगरानीमा छन् । विमला मन्त्रालयकै गाडी र पिएसओसहित मंगलबार पौने ९ बजेतिर एकराजको घर गएकी थिइन ।