लुम्बिनीमा मुख्यमन्त्री चौधरीले राजीनामा दिदै

तुलसीपुर,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने तयारी गर्नुभएको छ । विश्वासको मत पाउन सक्ने अबस्था नरेहेपछि उहाँले राजीनामा दिने तयारी गर्नुभएको हो । आज अपरान्ह ४ बजे विश्वासको मत लिने तयारी गरिएको भएपनि विश्वासको मत नलिई राजीनामा दिने तयारी रहेको काँग्रेस संसदीय दलका सचेतक निमा गिरीले बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले ४ बजे संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको छ ।


सत्तापक्ष गठबन्धनले भने ४४ जना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । एमालेका २९, माओवादी केन्द्रका १०(सभामुख बाहेक), जसपाका ३ जना, एकीकृत समाजवादीका एक जना र एक जना स्वतन्त्र सांसदको हस्ताक्षर तयारी अबस्थामा राखिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनुभयो । आज जसपाबाट कृषि मन्त्री हुनुभएका भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ ।

लुम्बिनीमा काँग्रेसका २७ सांसद छन् । त्यस्तै राप्रपाका ४ जना सांसद भएपछि जानकीलाल यादव भ्रष्टाचारको मुद्दा परेपछि निलम्बनमा परेका छन् । त्यस्तै नागरिक उन्मुक्ती पार्टीका ४ सांसद भएपनि लुम्बिनीमा सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गरेको छैन । जनमत र लोकतान्त्रिक समाजवादीका ३÷३ जना तथा राष्ट्रिय जनमोर्चाका १ जना सांसद लुम्बिनीमा छन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतकालागि ४४ सांसद आबश्यक पर्छ ।