अनुप पाण्डेका टिप्परको कारवाही अघि बढेन्, ईप्रका गेटमै थन्किएका छन् टिप्परहरु

तुलसीपुर
२३ असोज / अबैद्य रुपमा ढुंगा ओसारपसार गरिरहेको अबस्थामा गएको असोज १४ गते नियन्त्रणमा लिईएका दाङ तुलसीपुर ८ अस्वारा निवासी अनुप पाण्डेका चारवटा टिप्परहरुको कारवाही अझै अघि बढ्न सकेको छैन ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरको गेटमै टिप्पर राखिएको छ । प्रहरी कार्यालयले आबश्यक कारवाहीकालागि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पत्र पठाएको छ । तर, त्यो पत्रको कुनै प्रतिक्रिया नआएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।‘हामीले कारवाहीकालागि उपमहानगरपालिका कार्यालय पठाएका छौं’, उनले भने‘तर, त्यसको कारवाहीको कुनै जानकारी आएको छैन्, उताबाट पत्र आउनसाथ हामीले ति टिप्परलाई पठाईहाल्छौं ।’

टिप्पर नियन्त्रणमा लिएको एक हप्ता भन्दा बढि भइसक्दा पनि कारवाहीको प्रक्रिया अघि नबढदा अहिले कार्यालयको गेटमा ति टिप्पर पार्किङ गरिएको छ । सडक साँघुरो भएकाले तिनै टिप्परले गर्दा पनि आवतजावतमा समस्या हुने गरेको छ ।

तुलसीपुर १९ छिल्लीकोटबाट सिधै दंगीशरण गाउँपालिकाको चखौरासम्म लिने क्रममा ति टिप्परलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट कुनै कागजात फेला नपारेपछि नियन्त्रणमा ल्याईएको थियो । बालापुर प्रहरी चौकीले नियन्त्रणमा लिएका ति टिप्परहरु अष्टभैरव कम्पनीका रहेका छन् । ढुंगा ल्याएको स्थान र कहाँ लैजान लागेको हो भन्ने कुरा पुष्टि गर्ने कागजात बोक्नु पर्छ । क्रसर उद्योगबाट ल्याएको हो भने पनि त्यहाँको विल वोक्नु पर्ने भएपनि उनीहरुले केही पनि बोकेका थिएनन् ।


तर, चार लेन निर्माणका पेटी ठेकेदारका रुपमा रहेका सुनिल खत्रीले यसमा आफूहरुलाई जोड्नुपर्ने कुनै कारण नै नरहेको प्रतिक्रिया दिएका थिए । ति टिप्परहरु अष्टभैरव कम्पनीका रहेपनि आफूहरुले नारायणपुर निवासी अवित केसीलाई भाडामा दिएको बताएका छन् । यी टिप्पर हिजो नै प्रहरीले नियन्त्रणमा लिएको स्वीकार गर्दै भाडामा दिईसकेपछि चारलेनसंग जोड्न नहुँने उनको भनाई छ ।‘हामीले नारायणपुर निवासी अवित केसीलाई भाडामा दिएका थियौं’,उनले भने‘भाडामा लिइसकेपछि हामीसंग जोडनु उचित होईन् ।’ एक दिनकालागि भाडामा दिएको उनले बताए । त्यसमा पनि छिल्लीकोटबाट चारलेनकालागि ढुंगा लैजाने आफूहरुलाई अनुमति पनि नभएको उनले बताए ।

अहिले अष्ट भैरव कम्पनी मार्फत नै चारलेनको काम हुँदै आएको छ । तिनै टिप्परले चारलेनकालागि ढुंगा, गिट्टीलगायतका सामग्री ओसार–पसार गर्दै आएका छन् ।

घोराही–तुलसीपुर चारलेन निर्माणको काममा विलम्ब गरेको भन्दै उक्त कम्पनी विवादित बनेको थियो । सुरु–सुरुमा चारलेन निर्माणको काम तिब्रगतिमा अघि बढेपनि पछि भने एकाएक ठप्प भएको थियो । करिब एक बर्षसम्म ठप्प भयो । जसले गर्दा सोही सडककै कारण चारजनाको मृत्यु समेत भयो । यसले गर्दा पनि पाण्डेलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसंग जोडेर विवादमा तान्न खोजिएको छ ।

अनुप पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन् । यस अघि चारलेन निर्माणको पेटी ठेकेदारको जिम्म अष्टभैरव मार्फत उनले नै लिएका थिए । यही चारलेनकै कारण तुलसीपुर उपमहानगरपालिकाका मेयरको राजनीतिक भबिष्यसंग पनि जोड्ने गरिन्छ । काम सक्नुपर्ने समयमा अहिले पनि ६/७ प्रतिशत भन्दा बढि काम हुन सकेको छैन । काम सुरु भएपनि त्यसले गति लिन सकेको छैन ।