तुलसीपुर, ९ जेठ ।
जोत्न लैजाँदै गर्दा करेन्ट लागेर तुलसीपुरमा दुई गोरु मरेका छन् । तुलसीपुर-१५ का भडैया चौधरीले सोमबार (आज) बिहान खेत जोत्न लैजाँदै गरेका गोरुलाई तुलसीपुर-१४ को करंगामा विद्युतको तारले छुँदा करेन्ट लागेको हो । करेन्ट लागेलगत्तै गोरु घटनास्थलमै मरेका छन् ।
विद्युत विस्तारका क्रममा छोडिएको तार हावाहुरीले चालु अवस्थामा रहेको तारमा सट्दा घटना घटेको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले जानकारी दिनुभयो । घटनापछि तार अलग गराइएको उहाँले बताउनुभयो ।
स्थानीय अमर बुढाथोकीका अनुसार करंगा गाउँमा बिगत ७/८ महिनादेखि विद्युत विस्तारको नामा तार खुल्ला छोडिएको छ । विद्युत प्राधिकरणको गैरजिम्मेवारपनका कारण गोरुको क्षति भएको उहाँले बताउनुभयो ।
खानेपानीको बोरिङको लागि विद्युतको विस्तार गर्न लागिएको अवस्थामा तारहरु खुल्ला छोडिएकाले हावाहुरीले चालु अवस्थामा रहेको विद्युतको तारमा सटेकोले घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो ।
लाइभदाङ । ९ जेष्ठ २०७९, सोमबार ०९:०२ बजे