भारी वर्षाको पूर्वानुमानपछि राप्तीका विभिन्न स्थानमा माईकिङ,उच्च सतर्कता अपनाउन आग्रह

मसुरिया,८ असाेज।
दाङको राप्ती गाउँपालिकाले भारीदेखि अतिभारी वर्षाको पूर्वानुमानपछि सम्भावित विपद्बाट जोगिन विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागका अनुसार आगामी असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशसहित दाङका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुनसक्ने पूर्वानुमानपछि पालिकाले बाढी, डुबान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई सचेत गराएको हो।

बिहीबार पालिकाले माइकिङ गरि नदी, खोला तथा तल्लो भूभाग आसपासका बासिन्दालाई विशेष सतर्क रहन, पानीको बहाव बढेको समयमा खोला तथा नदी पार नगर्न र जोखिमयुक्त स्थानमा नजान आग्रह गरिएको छ।

विपद् आउनुपूर्व आवश्यक खाद्यान्न, खानेपानी, औषधि, टर्चलगायत अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न, मोबाइल फोन चार्ज गरी राख्न र परिवारका सदस्यसँग आपत्कालीन अवस्थामा सुरक्षित स्थानमा जानेबारे पूर्वतयारी गर्न पालिकाले आग्रह गरेको छ।


त्यस्तै, घर तथा गोठ आसपासका जोखिमयुक्त संरचना सुरक्षित बनाउन, विद्युत् तार तथा पोलबाट टाढा रहन र वर्षाका बेला अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ।

पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पहिरोको सम्भावित संकेत देखिए तत्काल सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरिएको छ।

त्यस्तै वर्षाका कारण कुनै क्षेत्रमा डुबान, बाढी वा पहिरोको अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित वडा कार्यालय, गाउँपालिका तथा सुरक्षा निकायलाई जानकारी गराउन गाउँपालिकाले अनुरोध गरेको छ।