
दंगीशरण,०८ असोज ।
जिल्ला हुलाक कार्यालय बर्दियाबाट दंगीशरण गाउँ कार्यपालिकाको कार्यालय, हेकुली दाङमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भई आउनुभएका जगतबहादुर घर्ती र स्वर्गद्वारी नगरपालिका, प्युठानबाट सरुवा भई आउनुभएका सि.अ.हे.ब. दीपक बस्यालको बिहीबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ।
गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा वली खड्का, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले प्रमुख प्रशासकीय अधिकृत घर्ती र सि.अ.हे.ब. बस्याललाई स्वागत गर्दै गाउँपालिकाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य तथा समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने वातावरण निर्माण गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै गाउँपालिकाको प्रशासनिक तथा सेवा प्रवाहका कार्य अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विकास निर्माण तथा सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।
स्वागतपछि प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्तीले दंगीशरण गाउँपालिकामा काम गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै जनप्रतिनिधि, कर्मचारी तथा नागरिकसँग आवश्यक समन्वय र सहकार्य गर्दै गाउँपालिकाको प्रशासनिक सेवा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, सि.अ.हे.ब. दीपक बस्यालले दंगीशरण गाउँपालिकामा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार, नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने तथा गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत घर्ती र सि.अ.हे.ब. बस्याललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।स्वागत कार्यक्रम गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत बिनोद अधिकारीको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको विशिष्ट आथित्यतामा भएको थियो ।



लाइभदाङ । ८ आश्विन २०८३, बिहीबार २०:४८ बजे