राप्तीका प्रधानाध्यापकद्वारा प्रमुख प्रशासकीय अधिकृत पाठकलाई बिदाइ

मसुरिया, ८ असोज।
राप्ती गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गाउँपालिकाबाट सरुवा भई प्युठानको नौबहिनी गाउँपालिकामा जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकलाई बिदाइ गरेका छन्।

प्रधानाध्यापकहरूले बिहीबार गाउँपालिकामा ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी पाठकलाई सम्मानसहित बिदाइ गरेका हुन्।

कार्यक्रममा प्रधानाध्यापकहरूले उहाँलाई मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।

सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद गुप्ताको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापकहरूले राप्तीमा कार्यरत रहँदा शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको महत्त्वपूर्ण याेगदान र समन्वयको प्रशंसा गरेका थिए।


उहाँको सहकार्यात्मक कार्यशैली र विद्यालयसँगको समन्वयलाई स्मरण गर्दै नयाँ जिम्मेवारी सफलतापूर्वक पूरा गर्न शुभकामना व्यक्त गरिएको थियो।

बिदाइ कार्यक्रममा पाठकले राप्तीमा कार्यरत रहँदा प्रधानाध्यापक, शिक्षक तथा विद्यालय परिवारबाट प्राप्त सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो। नयाँ जिम्मेवारीमा गए पनि राप्तीका शिक्षक तथा प्रधानाध्यापकहरूसँगको आत्मीय सम्बन्ध सधैँ कायम रहने बताउनुभयो।

माध्यमिक विद्यालय माैरीघाटका सहायक प्रधानाध्यापक सोबहादुर मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बीपी आधारभूत विद्यालयका प्रधानाध्यापक जीवराज शर्माले गर्नुभएको थियो।