
तुलसीपुर, ०८ असोज ।
दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पस र अमेरिकाको सेन्ट्रल वायोमिङ कलेज (CWC) बीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
दुई संस्थाबीच शैक्षिक सहकार्य, ज्ञान तथा अनुभव आदानप्रदान र संस्थागत सम्बन्ध विस्तार गर्ने उद्देश्यले समझदारी भएको राप्ती बबई क्याम्पसका कोषाध्यक्ष बिनिल केसीले जानकारी दिनुभयो।
उहाँका अनुसार बुधबार भर्चुअल माध्यमबाट आयोजित विशेष समारोहमा दुवै संस्थाका प्रतिनिधिको सहभागितामा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

समझदारीपत्रमा राप्ती बबई क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मी, उपाध्यक्ष मीनराज वली, कोषाध्यक्ष बिनिल केसी, क्याम्पस प्रमुख गणेश पार्धे, यूजीसी फोकल पर्सन शुशीलकुमार पन्थी, सहायक क्याम्पस प्रमुख यशोदा पाण्डे र आईटी अफिसर विनोद वलीलगायत सहभागी हुनुहुन्थ्यो। सेन्ट्रल वायोमिङ कलेजका अध्यक्ष ब्राड टिन्डल पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
सम्झौतासँगै राप्ती बबई क्याम्पसको अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तारका लागि महत्वपूर्ण आधार तयार भएको क्याम्पसले जनाएको छ। सहकार्यबाट नेपाल र अमेरिकाका दुई शैक्षिक संस्थाबीच शैक्षिक ज्ञान, अनुभव, विचार तथा संस्थागत अभ्यास आदानप्रदानका लागि अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा शैक्षिक तथा ज्ञान आदानप्रदान, प्राध्यापक तथा विद्यार्थीको सहभागिता, शैक्षिक अनुभव तथा उत्कृष्ट अभ्यासको आदानप्रदान, संयुक्त शैक्षिक गतिविधि सञ्चालन तथा दुवै संस्थाको आपसी सहमतिमा तय गरिएका अन्य सहकार्यका क्षेत्र समेटिएका छन्।
क्याम्पस प्रमुख गणेश पार्धेले सेन्ट्रल वायोमिङ कलेजसँगको सहकार्यले राप्ती बबई क्याम्पसको अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तारमा महत्वपूर्ण आधार तयार गरेको बताउनुभएको छ।



लाइभदाङ । ८ आश्विन २०८३, बिहीबार २०:१७ बजे