तुलसीपुरमा एकै पटकमा ५० भन्दा बढीले गरे रक्तदान

दाङ, ८ भदौ ।
तुलसीपुरमा एकै पटकमा ५० भन्दा बढी युवाहरूले रक्तदान गरेका छन् । विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तुलसीपुरको आयोजनामा आइतबार तुलसीपुर बसपार्कमा गरिएको रक्तदान कार्यक्रममा युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका हुन् ।

कार्यक्रमको व्यवस्थापन त्रिशिदेश्वरी राप्ती सार्वजनिक यातायात व्यवसायी समितिले गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका सभापति सुरेश हमालले रक्तदान समाजको लागि जीवनदायी कार्य भएको भन्दै यसलाई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।


आयोजक संस्थाले पनि आगामी दिनमा निरन्तर रक्तदान र सामाजिक हितका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।