
काठमाडौं, ०९ असोज ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रुपन्देहीस्थित ‘साई कृपा चिया उद्योग प्रालि’ द्वारा उत्पादित ‘साई कृपा गोल्ड चिया’ दूषित पाइएपछि बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
विभाग तथा मातहतका निकायबाट गरिएको बजार अनुगमन र निरीक्षणका क्रममा संकलित नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ दूषित पाइएको विभागले जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम विभागका महानिर्देशक संजिवकुमार कर्णको निर्णयानुसार सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सम्पूर्ण चिया बजारबाट तुरुन्त फिर्ता गर्न आदेश जारी गरिएको हो ।
विभागका अनुसार ब्याच नम्बर ८३ डी ०५ र उत्पादन मिति जुलाई २०२६ रहेको १ किलो तौल भएको ‘साई कृपा गोल्ड चिया’ लाई बजारबाट फिर्ता लिन विभागले निर्देशन दिएको हो ।
साथै ऐनको सोही दफाको उपदफा ९४० बमोजिम उक्त चियाको बिक्री वितरण नगर्न र नगराउन समेत सचेत गराइएको छ । उक्त ब्याचको चिया मानव स्वास्थ्यका दृष्टिकोणले दूषित देखिएकाले बजारमा उपलब्ध सबै परिमाण तत्काल फिर्ता लिन उद्योगलाई निर्देशन दिइएको विभागले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ ।



लाइभदाङ । ९ आश्विन २०८३, शुक्रबार ०८:३१ बजे