जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको टायर फुत्कियो, उडान अवरुद्ध

डोल्पा, ०८ असोज ।
नेपालगन्ज विमानस्थलबाट १३ जना यात्रु लिएर आएको सीता एयरको जहाज डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएको छ ।

आज बिहान ८ बजेर २५ मिनेटको समयमा नाइ–एन-एजेएच कलसाइन भएको जहाज अवतरण गर्ने क्रममा टायर फुत्किएको हो ।

जहाजमा सात जना विदेशी नागरिकसहित १३ जना यात्रु सवार थिए ।


टायर फुत्किए पनि अन्य कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको विमानस्थल सुरक्षा पोस्टले जनाएको छ ।

जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् भने अवतरणका लागि आएको नेपाली सेनाको जहाजसमेत फर्किएको छ ।

आजै हेलिकप्टरबाट प्राविधिक झिकाएर मर्मतको तयारी भइरहेको बताइएको छ । यससँगै जहाज ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ ।