भारी वर्षाको पूर्वानुमानपछि राप्तीमा विपद् पूर्वतयारी तीव्र

मसुरिया, ८ असोज।
असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशसहित दाङका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुनसक्ने पूर्वानुमानपछि दाङको राप्ती गाउँपालिकाले विपद् पूर्वतयारी तीव्र बनाएको छ।

सम्भावित वर्षाका कारण बाढी, डुबान, कटान तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै गाउँपालिकाले पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यक तयारीबारे छलफल गरेको हो।

राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बिहीवार  बसेको बैठकले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि गाउँपालिका, तीनवटै सुरक्षा निकाय, सम्बन्धित संघसंस्था, राजनीतिक दल, स्थानीय समुदाय, सञ्चारकर्मी लगायत सबै सरोकारवालाको समन्वयमा विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनर्स्थापनाका कार्य सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकमा जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार तथा राहत सामग्रीको तयारी, जनशक्ति परिचालन र विपद्का बेला नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा छलफल भएको थियो। साथै, विपद्को अवस्था आए तत्काल उद्धार तथा राहतका काम अघि बढाउन वडा कार्यालय, सुरक्षा निकाय र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरिएको छ।


गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे नियमित जानकारी राख्न, सतर्कता अपनाउन तथा बाढी, डुबान वा पहिरोको जोखिम देखिएमा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलवान चौधरी, वडा नं. ५ का वडाध्यक्ष देवप्रसाद चौधरी, इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपाने, विभिन्न राजनीतिक दलका प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, सुरक्षाकर्मी,सञ्चारकर्मी तथा कर्मचारीहरूको सहभागिता थियो।

कार्यक्रमको सहजीकरण विपद् व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराईले गर्नुभएको थियो।