बगेश्वरी डाँगी बन्धु ट्रस्टको २२औँ साधारण सभा सम्पन्न

तुलसीपुर,२१ भदौ।
श्री बगेश्वरी डाँगी बन्धु ट्रस्टको २२औँ साधारण सभा ट्रस्टका केन्द्रीय अध्यक्ष चतुरमान डाँगीको अध्यक्षतामा आज २०८३ साल भदौ २१ गते तुलसीपुरमा सम्पन्न भएको छ।

साधारण सभामा ट्रस्टका ज्येष्ठ सदस्य तथा अक्षय कोषदाता मानबहादुर डाँगी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा ट्रस्टका केन्द्रीय सल्लाहकार तथा पूर्व केन्द्रीय महासचिव बमबहादुर डाँगी, पूर्वाञ्चल अध्यक्ष विष्णुनारायण डाँगीलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

त्यसैगरी सल्लाहकार शक्तिराम डाँगी, दाङ जिल्ला अध्यक्ष लोकराज डाँगी, योग प्रशिक्षक उदयबहादुर डाँगी, बगेश्वरी युवा समाज, दाङका अध्यक्ष पूर्णविक्रम डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले डाँगी बन्धुहरूबीचको एकता, आपसी सद्भाव, सामाजिक सेवा तथा भावी पुस्ताका लागि शिक्षा र संस्कृतिको संरक्षणमा ट्रस्टले निर्वाह गर्दै आएको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य ट्रस्टका केन्द्रीय सदस्य डिल्लिबहादुर डाँगीले व्यक्त गर्नुभएको थियो।


साधारण सभाका अवसरमा ट्रस्टले सामाजिक तथा संस्थागत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै माननीय पूर्वन्यायाधीश वीरबहादुर डाँगी, केन्द्रीय सल्लाहकार बमबहादुर डाँगी तथा अक्षय कोषदाता लीलावती डाँगीलाई सम्मान गरेको थियो।

सभामा ट्रस्टका महासचिव शालिकराम डाँगीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष डा। शास्त्री मोतीलाल डाँगीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल गरिएको थियो। छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

कार्यक्रमको सहजीकरण महासचिव शालिकराम डाँगी र उपमहासचिव हुमबहादुर डाँगीले गर्नुभएको थियो।

साधारण सभाले ट्रस्टको आगामी कार्यदिशालाई थप प्रभावकारी बनाउँदै डाँगी समुदायको एकता, सामाजिक सेवा, शिक्षा–संस्कृति संरक्षण तथा संस्थागत विकासका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।