लमही–३ को मजगाउँमा १० लाखको लागतमा नाली र सिँचाइ नहर निर्माण तीव्र

दाङ, १२ कार्तिक ।
लमही नगरपालिका वडा नम्बर ३ अन्तर्गत मजगाउँस्थित प्रियसी टोलमा सडक तथा पूर्वाधार विकासका कामले तीव्रता पाएका छन्। चालु आर्थिक वर्ष २०८३/८४ मा विनियोजित १० लाख रुपैयाँ बजेटबाट उक्त क्षेत्रमा पक्की नाली र सिँचाइ नहर निर्माणको काम भइरहेको छ ।

लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीका अनुसार मजगाउँको दामोदर बाटो क्षेत्रमा पूर्वाधार विकासअन्तर्गत नाली तथा सिँचाइ कुलो निर्माण भइरहेको हो । यस योजनाअन्तर्गत प्रियसी टोल मजगाउँमा १ सय १७ मिटर पक्की नाली र १ सय १५ मिटर सिँचाइ नहर निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

पक्की नाली निर्माण भएपछि वर्षायाममा सडक तथा बस्तीमा पानी जम्ने र उचित निकास नहुँदा उत्पन्न हुने समस्यामा कमी आउने वडा अध्यक्ष चौधरीको भनाई छ । त्यसैगरी, सिँचाइ नहर निर्माणले स्थानीय किसानलाई खेतीपातीका लागि सिँचाइ सुविधा उपलब्ध गराउन सहयोग पुग्नेछ । दुवै संरचनाको निर्माण सम्पन्न भएपछि उक्त टोलका धेरै स्थानीय बासिन्दा लाभान्वित हुने छन ।


वडा अध्यक्ष चौधरीले वडाभित्र सडक तथा अन्य भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार यसअघि पनि विभिन्न टोल तथा बस्तीमा सडक निर्माण, पक्की नाली निर्माण र सडक कालोपत्रेलगायतका विकासका काम सम्पन्न भइसकेका छन् ।

वडामा अझै सडक तथा पूर्वाधार विकासको आवश्यकता रहेका स्थानहरूमा चालु आर्थिक वर्षभित्रै क्रमशः विकास निर्माणका काम अघि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

स्थानीयस्तरमा सडक, नाली र सिँचाइका संरचना निर्माण हुँदा नागरिकको दैनिक आवागमन सहज हुनुका साथै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यस्ता पूर्वाधार विकासका योजनाले स्थानीय बासिन्दाको जीवनयापन सहज बनाउन र बस्तीको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।