पश्चिम दाङको हापुरेमा आगलागी: तीनवटा पसलमा क्षति

दाङ, १२ कात्तिक ।
पश्चिम दाङको बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा मंगलबार राति भएको आगलागीबाट तीनवटा पसलमा ठूलो क्षति पुगेको छ। स्थानीय खिमबहादुर सोमैको घरमा राति साढे आठ बजेतिर आगलागी सुरु भएको थियो। सोही घरमा र त्यससँगै जोडिएका अन्य दुई पसलमा आगोले क्षति र्पुयाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिए ।

प्रहरीका अनुसार वडा नम्बर ४ की गौरी घर्तीले सञ्चालन गर्नुभएको ‘सारिका शृंगार पसल’ पूर्ण रूपमा जलेर खरानी भएको छ। यसैगरी, सोही घरसँग जोडिएको हरिप्रसाद पौडेलको भवनमा भीमप्रसाद भण्डारीद्वारा सञ्चालित ‘ओम गंगा किराना पसल’ को करिब ८० प्रतिशत सामान नष्ट भएको छ भने सहिता खातुनको ‘सकिल कस्मेटिक स्टोर’ मा रहेका सामानहरू पनि आगोले जलेर नष्ट भएका छन्।


घटनालगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर, स्थानीय स्तरमा दमकल नहुँदा आगो समयमै नियन्त्रणमा लिन निकै कठिनाई भयो। त्यसपछि घोराही उपमहानगरपालिकाबाट दमकल मगाइएको र घटना भएको करिब दुई घण्टापछि राति पौने ११ बजेतिर मात्रै आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

पश्चिम दाङका चारवटा स्थानीय तहमा दमकलको सुविधा नहुँदा यस्ता आकस्मिक अग्निपीडित घटनाहरूमा ठूलो समस्या हुने गरेको छ । यसअघि तुलसीपुर उपमहानगरपालिकामा रहेको एउटा मात्र दमकल पनि गत वर्ष भदौ २४र२५ तिरको आन्दोलनका क्रममा जलेर नष्ट भइसकेको छ ।