
काठमाडौँ, १२ कार्तिक ।
जल तथा मौसम विज्ञान विभागले आज भारी वर्षाको सम्भावना नरहेको बताएको छ ।
मौसमी बुलेटिनमा विभागका मौसमविद् हरिप्रसाद दाहालले आज दिउँसोका लागि भारी वर्षाको सम्भावना नरहेको बताए । तर राति भने कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली एकदुई स्थानमा भारी वर्षारहिमपात तथा मधेश र लुम्बिनीका तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्छ, उनले भने, रातिबाट वर्षाको गतिविधि भोलि र पर्सिसम्म बढ्ने देखिन्छ ।
विभागका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली केही स्थानमा र बाँकी हिमाली थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुनेछ । कोशी, मधेश र बामगतीका तराई भूभागका थोरै स्थानमा, कर्णालीको पहाडी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’को अवशेषका रूपमा रहेको गहिरो न्यूनचापीय प्रणाली उत्तर तटीय आन्ध्र प्रदेश र दक्षिण ओडिशा, दक्षिण छत्तीसगढ तथा उत्तरपूर्वी तेलंगानाको आसपासबाट पछिल्लो ६ घण्टामा २२ किलोमिटर प्रतिघण्टाको गतिमा लगभग उत्तरतर्फ सरेको छ । यो कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भएको भारतीय मौसम विभागले जनाएको छ ।
भारतीय समयअनुसार बिहान ५:३० बजे उक्त प्रणाली दक्षिण छत्तीसगढ र आसपासको दक्षिण ओडिशामा केन्द्रित थियो । यो प्रणाली आज साँझसम्म लगभग उत्तरतर्फ सर्ने र कमजोर हुँदै स्पष्ट रूपमा चिनिने न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ ।
चक्रवात न्यून चापीय क्षेत्रका रुपमा विकसित भइसकेकाले नेपाल प्रवेश गर्दा अझै कमजोर हुने पनि नेपालको मौसम विज्ञान विभागले जनाएको छ । सोको प्रभावले नेपालमा वर्षारहिमपात तथा हावाहुरीको सम्भावना रहे पनि चक्रवात ‘अर्णव’ शक्तिशाली हुँदाजस्तो नेपालमा हावाहुरीको सम्भावना भने नदेखिने विभागको भनाइ छ ।



लाइभदाङ । १३ कार्तिक २०८३, बिहीबार १२:२२ बजे