लुम्बिनी प्रदेश प्रहरीद्वारा एक महिनामा करिब ६ सय मुद्दा दर्ता

तुलसीपुर, १२ कात्तिक ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले असोज महिनामा करिब ६ सय मुद्दा दर्ता गरेको जनाएको छ । सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार पाँच सय ८९ वटा मुद्दा दर्ता भएका हुन् ।

उहाँका अनुसार असोज महिनामा जघन्य अपराधतर्फ एकसय ६ वटा, महिला तथा बालबालिका सम्बन्धी ४४ वटा र आर्थिक अपराधतर्फ ३९ वटा घटना भएका छन् । त्यस्तै अवैध भन्सार छलीतर्फ ६ करोड ८७ लाख ३४ हजार बराबरको सामानसहित २४ जनालाई पक्राउ गरिएको छ । त्यस्तै राजस्व छलीतर्फ एक करोड ९७ लाख १७ हजार ७ सय ७२ रुपैँया बराबरको सामानसहित ४१ जना मानिसलाई पक्राउ गरिएको छ ।

त्यसैगरी सवारी साधन चेकिङका क्रममा १ हजार ४ सय २८ वटा कारबाहीबाट एक करोड ४७ लाख ११ हजार राजस्व दाखिला भएको छ भने प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ७८ वटा सवारी साधन जफत गरी २१ लाख १४ हजार ६ सय १ राजश्व दाखिला भएको छ ।
सूचना अधिकारी चौधरीका अनुसार अवैध काठ बरामदबाट १९ लाख ४६ हजार ७ सय २ जरिवाना असुल गरिएको छ ।


त्यस्तै अदालतको फैसला कार्यान्वयनतर्फ तीनसय १४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ७३ वर्ष ८ महिना १ दिन कैद र दुई करोड ५० लाख २८ हजार ५ सय ४६ जरिवाना असुल गराइएको छ ।

त्यस्तै प्रहरीले विभिन्न जिल्लाबाट ३३ थान भरुवा बन्दुक, ५ थान ऐ.नाल र ३ थान पेस्तोलसहित अवैध हातहतियार जफत गरेको छ, भने लागूऔषध कारोबार नियन्त्रणतर्फ ६५ वटा मुद्दा दर्ता गरी एकसय ११ जनालाई पक्राउ गरिएको छ । जसको साथबाट ३६ केजी चरेस, १ किलो ग्राम ब्राउन सुगर, ९३ केजी गाँजा तथा अन्य प्रतिबन्धित औषधीहरू बरामद भएका छन् ।