
दीपक बोहरा
दाङ, १२ कात्तिक ।
दाङमा रगत अभाब देखिएको छ । दाङको तुलसीपुर, घोराही र लमहीको रक्तसञ्चार केन्द्रमा रगत पाउन मुस्किल हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले सञ्चालन गरेका ती रक्तसञ्चार केन्द्रमा रगत नहुँदा समस्या हुने गरेको कार्यालय प्रमुख विश्राम अधिकारीले बताउनुभयो । चाडपर्वको समयमा प्रायः सधै जसो रगत अभाब हुने गरेको उहाँको भनाई छ ।
असोज महिनादेखि यसरी अभाब हुने गरेको प्रमुख अधिकारीले बताउनुभयो ।“चाडपर्वको समयमा सधै यसरी नै अभाब हुन्छ, यो बर्ष पनि अभाब भयो, रक्तसञ्चार केन्द्रमा रगत छैन”,उहाँले भन्नुभयो“ दाताहरु पनि यस्तो बेला भेटाउन गााह्रो हुन्छ ।”
रक्तदान गर्ने बिभिन्न संघसंस्थाहरुलाई आह्वान गर्दा पनि चाडपर्वको समयमा यसरी रगत संकलन नहुँदा समस्या हुनेगरेको छ । अन्य समयमा बिभिन्न संघसंस्थाहरुले आफै रक्तदान गर्ने गरेको भएपनि चाडपर्वमा अलि समस्या हुने भन्दै यस्तो कुरामा सबैले ध्यान दिनुपर्ने उहाँको भनाई छ । यस्तो बेला रक्तदाताहरुले सामाजिक उत्तरदायित्व सम्झेर रक्तदान गर्नुपर्ने समेत उहाँको भनाई छ ।“यस्तो समयमा माग झन धेरै हुन्छ”,उहाँले भन्नुभयो“तर, अभाब नै हुँदा विरामीको ज्यान जान सक्छ, यो कुरामा सबैले ध्यान दिनुपर्छ ।”
दाङमा थारु समुदायमा देखिने सिकलसेल एनेमिया र थैलेसिमिया जस्ता रोगहरूका कारण पनि रगत खपत निकै उच्च छ । यी रोगका बिरामीहरूलाई नियमित रूपमा रगत चढाइरहनु पर्ने भएकाले जिल्लाभर वार्षिक रूपमा पाँचहजार देखि ६ हजार युनिटसम्म रगतको माग र खपत हुने गरेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रक्तसञ्चार केन्द्रमा सबैभन्दा धेरै अर्थात वार्षिक तीन हजार सातसय युनिटभन्दा बढी रगत खपत हुन्छ। यस्तै, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा बार्षिक दुईहजार एकसय युनिट भन्दा बढि र लमही क्षेत्रमा करिब एक हजार युनिट रगत खपत हुने गरेको छ ।



लाइभदाङ । १३ कार्तिक २०८३, बिहीबार २१:१४ बजे