सल्यानमा अटो दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते

सल्यान १२ कार्तिक ।
सल्यानको बागचौर नगरपालिका–१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

बिहीबार बिहान करिब १ः३० बजेको समयमा मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो।

दुर्घटनामा परी अटोमा सवार सल्यानको छत्रेश्वरी गाउँपालिका–५ सिर्बाली निवासी ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।


अटो चालक बागचौर नगरपालिका–१० निवासी करिब ३४ वर्षीय निर्मल कवर मगर घाइते भएका छन्। उनको टाउको, बायाँ खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते चालकलाई उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाबारे बिहान ७ः०५ बजे इलाका प्रहरी कार्यालय थारमारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ट्राफिक प्रहरीसहित आठ जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा परेको अटो र मृतकको शव घटनास्थलमै रहेको अवस्थामा प्रारम्भिक जानकारी प्राप्त भएको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय थारमारेबाट करिब १० किलोमिटर दक्षिणमा पर्छ।