दमकलको पर्खाइमै खरानी भयो हापुरेको कस्मेटिक पसल

दाङ, ११ कात्तिक । दाङको बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा बुधबार बेलुकी भीषण आगलागी हुँदा एउटा कस्मेटिक पसल पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बेलुकी ८ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ।

आगलागी सुरु भएको दुई घण्टाभन्दा बढी बितिसक्दा पनि दमकल पुग्न नसक्दा पसलका सबै सामान जलेर नष्ट भएका छन्। दमकलको अभावमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरे पनि ठूलो आगो नियन्त्रणमा लिन नसकेपछि टोली मूकदर्शक बन्न बाध्य भएको थियो।

चार पालिका दमकलविहीन


तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चारवटा पालिकामा हाल एउटै पनि सञ्चालनयोग्य दमकल छैन। यसअघि तुलसीपुर उपमहानगरपालिकासँग रहेको एउटा दमकल २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा जलाइएको थियो। घटनाको वर्षदिन बितिसक्दा पनि उपमहानगरपालिकाले नयाँ दमकल खरिद गर्न नसक्दा सम्पूर्ण क्षेत्र नै जोखिममा परेको छ।

हापुरेभन्दा झन्डै ४६ किलोमिटर टाढा रहेको घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता रहेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली सहितको प्रहरी टोली घटनास्थल पुगे पनि आवश्यक उपकरण र दमकल अभावका कारण आगलागी नियन्त्रणमा ठूलो चुनौती थपिएको छ। संकटको बेला स्थानीय सरकार र राज्यको उपस्थिति फितलो देखिएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।