दाङको एक विद्यालयः जहाँ नियमावली अनुसार भेटिएनन् अभिभावक, गठन भएन विव्यस

दीपक बोहरा
दाङ, १० भदौ ।
दाङको बबइ गाउँपालिका वडा नं. ७ स्थित सरस्वति मावि चरकमटियामा व्यवस्थापन समिति गठन हुन सकेको छैन । तीन वटा बैठकले समेत विद्यालय ब्यबस्थापन समिति गठन गर्न नसकेको विद्यालय ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष प्रेमबहादुर राम्जाले बताए । विशेषगरी सदस्यहरूको शैक्षिक योग्यता र राजनीतिक संलग्नता सम्बन्धीको नियमले गर्दा योग्य व्यक्ति भेटाउनै मुस्किल परेको उनको भनााई छ ।

नियमावली अनुसार माविकालागि १२ कक्षा उत्तीर्ण गरेको र कुनै पनि पाँच बर्षदेखि कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्ति सदस्य हुनुपर्ने प्रावधानले गर्दा त्यहाँ सोही अनुसारका सदस्य नै फेला नपरेको उनको भनाई छ ।

गएको जेठ १० गते, जेठ २४ गते बैठकमा गणपुरक संख्या नै पुगेन्, भने अर्को भेला साउन २२ गते बोलाईयो । सोही भेलामा नयाँ नियमावली अनुसारका योग्य ब्यक्तीले सम्पर्क गर्न भनि पाँच दिने सूचना समेत जारी गरिएको थियो । तर, त्यो अनुसार अभिभावक नआउँदा ब्यबस्थापन समितिलाई पूर्णता दिन समस्या भएको पालिकाका शिक्षा शाखा प्रमुख सरस्वति भण्डारीले बताईन । उनका अनुसार यस भन्दा अघिको कार्यकाल गएको जेठमै सकिएको हो ।


“हामीले ५ दिनको सूचना पनि निकाल्यौं, तर नियमावलीले भने अनुसारको सदस्य फेला पर्नुभएन”,उनले भनिन् “तीन पटकसम्म भेला गराएर सूचना निकाल्दा पनि योग्य अभिभावकहरू आउन सक्नुभएन । यो समस्याले गर्दा उक्त विद्यालयमा अझै समिति गठन हुन सकेको छैन ।” उक्त विद्यालय कक्षा १२ सम्म सञ्चालित छ ।