
दाङ, २७ असोज ।
प्रमोद आचार्य
नेपाली कांग्रेस तुलसीपुर उपमहानगर कार्यसमितिको आयोजनामा पार्टीको १५औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस पार्टी कार्यालय, दाङ क्षेत्र नं. ३ स्थित बीपी वाचनालयमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पार्टीभित्रको एकता, आपसी सहकार्य, संगठन सुदृढीकरण र जनतामाझ कांग्रेसको विश्वास थप बलियो बनाउने विषयमा जोड दिएका थिए। उनीहरूले महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई अवसरसँगै चुनौतीका रूपमा लिँदै पार्टीलाई जनमुखी र क्रियाशील बनाउन नवनिर्वाचित नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको पहिलो चरणको अध्यक्षता नेपाली कांग्रेस तुलसीपुर उपमहानगर कार्यसमितिका निवर्तमान सभापति सुरेश हमालले गर्नुभएको थियो। सोही चरणमा १५औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नगर सभापति वीरेन्द्र शाहसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद ग्रहण गर्नुभएको थियो। पद ग्रहणपश्चात् कार्यक्रमको अध्यक्षता नवनिर्वाचित नगर सभापति शाहले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले लोकतान्त्रिक अभ्यासअनुसार महाधिवेशनमा सहभागी सबै नेता तथा कार्यकर्तालाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया भए पनि प्रतिस्पर्धालाई प्रतिशोधका रूपमा लिन नहुने बताउनुभयो।
डाँगीले पार्टीको मुख्य उद्देश्य स्थानीय तहमा नेपाली कांग्रेसलाई अब्बल बनाउनु रहेको उल्लेख गर्दै त्यसका लागि नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउँदै जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा नवनिर्वाचित नगर सभापति वीरेन्द्र शाहले पार्टीभित्र लामो समयको संघर्ष र योगदानपछि आफू सर्वसम्मत रूपमा नगर सभापति निर्वाचित भएको बताउनुभयो। आफ्नो राजनीतिक पृष्ठभूमि स्मरण गर्दै उहाँले आफूले सधैँ अरूका लागि समर्पित भएर काम गर्दै आएको उल्लेख गर्नुभयो।
सभापतिको जिम्मेवारीमा पुगेपछि आफूलाई लक्षित गरी भइरहेका विभिन्न टीकाटिप्पणीप्रति दुःख व्यक्त गर्दै शाहले पार्टीभित्रको योगदान, संघर्ष र भूमिकाको उचित मूल्यांकन हुनुपर्ने धारणा राख्नुभयो। उहाँले आफूलाई प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश हमाल, सुष्मा गिरी, देवा डाँगी, जितबहादुर केसी र मोहन स्वर्णकारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीभित्र आपसी सद्भाव, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभएको थियो।
त्यसैगरी, नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति खिमबहादुर वली, महाधिवेशन प्रतिनिधिहरू नवीन योगी, जोगेन्द्र विश्वकर्मा, शान्ता पाण्डे, जनक खराल, टेकन बस्नेत र हिमाल, क्षेत्र नं. ३(ख) का सभापति शम्भु गिरी, क्षेत्र नं. ३(क) का सभापति तेजबहादुर डाँगी तथा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टीका अग्रजहरूको अनुभव र युवा पुस्ताको सक्रियतालाई समेटेर अघि बढ्नुपर्ने बताएका थिए। उनीहरूले पार्टीको संगठन विस्तार, कार्यकर्ताको उचित मूल्यांकन, जनतासँगको सम्बन्ध सुदृढीकरण र स्थानीय तहमा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।
कार्यक्रमको सहजीकरण नगर सचिव कृष्ण डाँगीले गर्नुभएको थियो।



लाइभदाङ । २७ आश्विन २०८३, मंगलवार २०:३७ बजे