
दाङ, ०५ भदौ ।
वैदेशिक रोजगारीका लागि रोल्पाबाट काठमाडौं जाने क्रममा बस दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका रोल्पा त्रिवेणी गाउँपालिकाका अमरकुमार झाँक्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सफल उपचार भएको छ ।
दुर्घटनामा परी अर्धचेत अवस्थामा रहनुभएका अमरको टाउको, अनुहार, घाँटी र कानमा गहिरो चोट लागेको थियो ।
उहाँको जटिल अवस्थालाई ध्यानमा राख्दै प्रतिष्ठानका न्युरोसर्जन डा. उपमा शर्मा, मुख तथा अनुहार शल्य चिकित्सक डा। निरोज खनाल, नाक, कान तथा घाँटी विशेषज्ञ डा। सरोज आचार्य र दन्त रोग विशेषज्ञ डा। करिष्मा भण्डारीसहितको विशेषज्ञ चिकित्सक टोलीले उपचार सुरु गरेको थियो ।
चिकित्सकहरूले पहिलो चरणमा टाउकोमा जमेको रगत निकाल्न करिब ६ घण्टा र दोस्रो चरणमा अनुहारको पुनर्संरचनाका लागि करिब ९ घण्टा लामो जटिल शल्यक्रिया गरेका थिए ।
अनुहारको खाल्डो परेको क्षतिग्रस्त भाग सच्याउन घाँटीको छाला प्रयोग गरिएको थियो ।

करिब १० दिनको आईसीयू बसाइ र निरन्तर चिकित्सकीय निगरानीपछि अमर अहिले बोल्न र हिँडडुल गर्न सक्ने सामान्य अवस्थामा फर्कनुभएको छ । चिकित्सकहरूले अनुहारको स्वरूप बिग्रन सक्ने उच्च जोखिमका बीच पनि उहाँको अनुहारलाई सम्भव भएसम्म सामान्य रूपमा फर्काउन सफलता पाएका छन् ।
सफल उपचारपछि नयाँ जीवन पाउनुभएका अमरले आफ्नो ज्यान जोगाइदिएकोमा चिकित्सक टोलीप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।



लाइभदाङ । ५ भाद्र २०८३, शुक्रबार २१:४७ बजे