घोराहीमा महोत्सव लगाउन अनुमति

दाङ
२५ पुस / तुलसीपुरमा केही समय अघि महोत्सव लगाउँदा कोरोना सक्रमितको संख्या ह्वात्तै बढिरहेको अबस्थामा घोराहीमा पनि महोत्सव लगाउने विषयको ब्यापक आलोचना भइरहेको छ । यही आलोचनाकै बीचमा दाङ उद्योग बाणिज्य संघलाई आउदो माघ ७ गतेदेखि १७ गतेसम्म महोेत्सव लगाउने गरि अनुमति प्रदान गरेको पत्र सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले १० दिनसम्म महोत्सव लगाउन पाउने गरि अनुमति दिएको संघका महासचिब महेन्द्र बुढाथोकीले बताए । यही पुस २२ गते चलानी नं.‘४७३९’ रहेको पत्र संघलाई उपलब्ध भएको छ । घोराही उपमहानगरपालिकाको सिफारिश बमोजिम घोराही १४ झिगौरामा ‘औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी २०७८’ सञ्चालनकोलागि अनुमति दिएको पत्र सार्वजनिक भएको हो ।

यो पत्र सार्वजनिक भएसंगै आम नागरिकले ब्यापक आलोचना गरेका छन् । प्रशासनले पत्र दिएपनि महोत्सव सञ्चालन हुने सम्भावना भने निकै न्यून रहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार पत्र दिने विषयमा छलफलमै रहेको र दिएको कुरा थाहा नभएको नयाँ पत्रिकालाई प्रतिक्रिया दिए । ‘महोत्सव सञ्चालन गर्ने कुरा छलफलमै थियो, दिने कुरा त थियो, दिने–नदिने विषयमा उहाँहरुसंग छलफल गर्ने कुरा थियो’, उनले भने‘अस्ति(शुक्रबार) ४ बजिसक्यो, म साथीहरुलाई जिम्मा दिएर फिल्डमा थिएँ, सायद पत्र लग्नु भएको छैन्, होला । यो हिसाबले अनुमति दिएको छैन भन्नु प¥यो ।’ यो विषय के रहेछ, भन्ने कुरा आफू कार्यालय गएपछि मात्रै थाहा हुने समेत उनले बताए । उनले भने‘आज(आईतबार) ११ बजेतिर के रहेछ, अफिस गएर म कन्फर्म गर्छु ।’


प्राप्त पत्र अनुसार शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि किसिमको कार्य नगर्ने नगराउने,स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने गराउने, महोत्सव प्रत्येक दिन विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मात्र लगाउने, स्थानीय तह र प्रहरीसंग आबश्यक समन्वय र सहकार्य गर्ने तथा आय व्यायको सम्पूर्ण विवरण कार्यक्रम सम्पन्न भएको मितिले १५ दिन भित्र सार्वजनिक गर्ने सर्त पूरा गर्ने गरि अनुमति दिईएको छ ।

आफूहरुले पत्र ल्याईसकेको भएपनि तोकिएको अबधीमा महोत्सव सञ्चालन गर्न सम्भव नभएको संघका महासचिब महेन्द्र बुढाथोकीले बताए ।‘कोरोना बढिरहेको छ, माघ ७ गतेदेखि सञ्चालन गर्ने कुरा हो, तर प्रचार प्रसार पनि छैन’, उनले भने‘त्यसैले अनुमति दिएकै समयमा सञ्चालन गर्न अलि गाह्रो छ ।’ विगत एक महिना अघि नै आफूहरुले महोत्सव सञ्चालनको अनुमतिकालागि प्रक्रियामा अघि बढेको भन्दै सोही अनुसार अनुमति प्राप्त भएको उनको भनाई थियो ।

No description available.