
दंगीशरण, २१ साउन ।
दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न शाखामार्फत सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको विस्तृत समीक्षा गरिएको हो।
समीक्षा कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूले आर्थिक वर्षभरि सम्पन्न भएका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले समीक्षा कार्यक्रमले विगतका उपलब्धि र कमजोरीहरूको वस्तुगत मूल्याङ्कन गरी आगामी योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउन महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले समीक्षा प्रक्रियाबाट प्राप्त सुझाव र अनुभवलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्दै सुशासन, पारदर्शिता र गुणस्तरीय सेवा प्रवाहमा थप प्रभावकारिता ल्याइने बताउनुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले गाउँपालिकाले हासिल गरेका उपलब्धिहरू उत्साहजनक रहे पनि केही चुनौती र सुधार गर्नुपर्ने पक्षहरू रहेको उल्लेख गर्दै ती कमजोरीलाई स्वीकार गरी आगामी दिनमा अझ योजनाबद्ध, पारदर्शी, उत्तरदायी र परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। वरिष्ठ शिक्षा अधिकृत बिनोद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विपद् शाखा प्रमुख यादव डाँगीले गर्नुभएको थियो।



लाइभदाङ । २१ श्रावण २०८३, बिहीबार १७:४० बजे