प्रतिष्ठानमा ‘सुपरस्पेसियालिटी’ सेवा लिने बढ्दै

तुलसीपुर, २९ चैत । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘सुपरस्पेसियालिटी’ सेवा लिने बढिरहेका छन् ।

हाल दाङसहित रोल्पा, रुकुम, सल्यान, प्यूठानसहितका जिल्लाका विरामीहरुले सेवा लिइरहेका छन् । प्रतिष्ठानले हाल न्युरोसर्जरी, युरोसर्जरी र कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको छ।

जस अनुसार गएको वैशाख १ देखि चैत तेस्रो सातासम्म युरोलोजी विभागबाट पाँच हजार ७४ र न्युरोसर्जरीबाट चार हजार २४४ बिरामीले सेवा लिएका छन् ।
सोही अवधिमा न्युरोसर्जरीतर्फ २०३ र युरोलोजीतर्फ ६४९ वटा शल्यक्रिया भएका छन् ।


कार्डियोलोजी (मुटु रोग) तर्फ ४३९ जनाले ओपिडी सेवा लिएका छन् ।

सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र शिक्षण अस्पताललगायतका संस्थासँग सहकार्य समेत सुरु गरेको प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्सालले बताउनुभयो । तर, पर्याप्त भवन नहुँदा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अस्थायी संरचना र भाडाका घरमा सञ्चालन भइरहेको उहाँको भनाई छ ।

प्रस्तावित ४०० शैयाको अस्पताल निर्माणको गुरुयोजना हाल अर्थ मन्त्रालयमा सिफारिसको क्रममा रहेको छ । हाल प्रतिष्ठानमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।