तुलसीपुरमा खुकुरी प्रहार, एक युवक घाइते

दाङ — तुलसीपुर उपमहानगरपालिका–८ मा बिहीबार दिउँसो खुकुरी प्रहार हुँदा एक युवक घाइते भएका छन्।

प्रहरीका अनुसार घटना असोज ३० गते दिउँसो करिब १ बजे कृष्ण मन्दिर नजिक भएको हो। घाइते हुनेमा तुलसीपुर–५ रानीजरुवाका २५ वर्षीय पोषण डागी रहेका छन्। उनलाई तुलसीपुर–८ अश्वारका करिब २४ वर्षीय सन्दीप नामका व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकल रोकेर सन्दीपले एक्कासि खुकुरी प्रहार गर्दा डागीको दायाँ हातको चोर औंला र माझी औंलामा चोट लागेको बताइन्छ। घाइते डागीलाई तत्कालै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पुर्‍याइएको थियो। उपचारपछि दिउँसो करिब २ बजेर २५ मिनेटमा उनलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।


घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विनोदराज खत्रीको कमाण्डमा पाँच जनाको टोली र प्रहरी चौकी बेलुवाका प्रहरी सहायक निरीक्षक प्रकाश नेपालीको नेतृत्वमा अर्को टोली घटनास्थलमा खटिएको थियो।

खुकुरी प्रहारमा संलग्न २२ वर्षीय रिजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार रहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।