
तुलसीपुर, ९ चैत । नेश्नल प्याब्सन दाङको आयोजनामा ‘एसइइ बुस्ट अफ र लिडर्स इन मी’कार्यक्रम मङ्गलबार तुलसीपुरमा भएको छ । विद्यार्थीहरुलाई एसईई परीक्षाप्रति आत्मविश्वास बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरु निर्धक्क तरिकाले लेख्न, सोँच्न सहज होस्, भनि एसईई परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई यो उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरिएको हो ।
नेश्नल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक अवदेश केसीले विद्यार्थीहरूले आफूले जानेको कुरा निर्धक्क भएर लेख्न सक्नु पर्ने बताए ।
नियमित अभ्यास, आत्मअनुशासन, लक्ष्यप्रति स्पष्टता र सकारात्मक सोचका साथ अघि बढेमा सफलता हासिल गर्न सकिने उनको भनाई थियो । साथै, परीक्षा केवल ज्ञानको मात्र परीक्षण नभई धैर्य, आत्मविश्वास र समय व्यवस्थापनको समेत मूल्याङ्कन हुने उनको भनाई थियो ।
त्यस्तै अन्य प्रशिक्षकमा विज्ञान विषयका विज्ञ भोजराज न्यौपाने, गणित विषयका देवराज गौतम, अङ्ग्रेजी विषयका हिमाल कँडेल र लोकेन्द्र बहादुर खड्का, ज्योतिषाचार्य माधवा शर्मालगायत थिए ।
त्यस अवसरमा नेश्नल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माले शिक्षालाई केवल परीक्षामा सीमित नगरी व्यवहारिक, जीवनोपयोगी र नेतृत्व विकाससँग जोड्नुपर्ने बताए । उनले वद्यार्थी र शिक्षक दुवैको क्षमतावृद्धि गर्न यस्ता कार्यक्रमले भूमिका खेल्ने समेत बताए ।
उक्त अवसरमा स्टुडेन्ट अफ द एयर प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य श्रीगाउँ लाइफ भिजन स्कुलका सञ्चालक अन्जना खड्काले गरेकी थिइन, भने सहजीकरण सचिव हरिप्रसाद भण्डारीले गरेका थिए ।



लाइभदाङ । १० चैत्र २०८२, मंगलवार २३:४२ बजे