शिक्षालाई व्यवसायसंग जोड्नुपर्छः मन्त्री मास्की

देउखुरी, २० मङ्सिर ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले शिक्षालाई व्यवसायसंग जोड्नु पर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आयोजनामा शिक्षकहरुलाई सूचना प्रणालीमा आधारित शिक्षण विधि सम्बन्धि एक दिवशीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा भनेको देशको जनशक्तिसंग जोडिएको भन्दै परिणाममुखी शिक्षामा जोड दिनुपर्ने बताए ।

शिक्षालाई समय सापेक्ष र प्रविधिमैत्री बनाए मात्रै शिक्षा क्षेत्रले फड्को मार्ने उनको भनाई छ । साथै उनले शिक्षालाई प्रयोगात्मकसंग जोड्नु पर्ने समेत बताए ।


त्यस अवसरमा पालिका अध्यक्ष प्रकाश विष्टले शिक्षालाई ब्यबहारिक बनाउन यो तालिमको आयोजना गरिएको बताए । अहिले पनि प्लसटु पछि विदेश जाने विद्यार्थीको संख्या बढेको भन्दै यसलाई कम गर्न शिक्षकहरु नै सचेत हुनुपर्ने बताए ।

दक्ष जनशक्ति स्वदेशमै राख्नकालागि आफूहरुले यो अभियान चलाइरहेको उनले बताए । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विकले गरेका थिए ।