तुलसीपुरमा खुल्यो लुम्बिनी स्मार्ट स्कुल

तुलसीपुर, १५ फागुन ।
दाङको तुलसीपुरमा लुम्बिनी स्मार्ट स्कुल सञ्चालनमा आएको छ । लुम्बिनी फ्युचर पाथले तुलसीपुर ९ दोघरेमा उक्त स्कुल सञ्चालन गरेको हो । अध्यक्ष मोहन सुनारको अध्यक्षतामा कार्यक्रम गरि बिरूवामा पानी हालेर स्कुलको उद्घाटन गरिएको हो ।

त्यस अवसरमा स्कुलको प्रिन्सिपलमा पदभार ग्रहण गर्दै बामदेव सापकोटाले विद्यार्थीहरुलाई नयाँ शैलीबाट शिक्षा दिन स्कुल खोलिएको बताए ।“हामीले पढाउछौं, तर, विद्यार्थीले बुझिरहेको छैन”,उनले भने“अब विद्यार्थीहरुको मनोविज्ञान बुझेर पढाउने खालको शिक्षा चाहिएको छ, यस तर्फ हामी केन्द्रित हुनेछौं ।” उनले विद्यार्थीहरुको सुरक्षा, पढाउने मात्रै नभई सिकाउने तर्फ केन्द्रित हुने बताए । साथै विषयगत कक्षा कोठा हुने र दैनिक ९० मिनेटको पढाई हुने समेत उनले बताए । जसमा दैनिक ४ वटा पिरियड हुने हुँदा पूर्ण रुपमा प्रयोगात्मक पनि हुने र विद्यार्थीहरुले धेरै किताब बोक्नु पर्ने अबस्थाको पनि अन्त्य हुने उनको भनाई छ ।


त्यस्तै उनले विद्यार्थीहरुलाई दैनिक एक घण्टा उत्पादनमा जोड्ने र उत्पादित बस्तु विद्यालयले नै किनिदिने समेत बताए । त्यस अवसरमा अध्यक्ष मोहन सुनारले तुलसीपुरसहित हेमन्तपुर र हापुरे गरि तीन वटा विद्यालय सञ्चालनमा ल्याइएको समेत बताए ।
त्यस अवसरमा विद्यालय भवन निर्माण गर्ने ठेकेदार, सावारी चालक, सुरक्षा गार्डलगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक कमल भण्डारीले बताए । स्कल शिशुदेखि कक्षा ९ सम्म सञ्चालित छ ।