कर कार्यालय तुलसीपुरको सेवा

तुलसीपुर, ७ असोज । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले मंगलबारदेखि सेवा सुरु गरेको छ ।

जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको कार्यालयले तुलसीपुर उद्योग बाणिज्य संघको हलबाट सेवा सुरु गरेको हो ।

हाललाई कार्यालयबाट सेवा प्रवाह गर्न नसकिने अबस्था आएपछि उद्योग बाणिज्य संघको भवनबाट सेवा सुरु गरिएको प्रमुख कर अधिकृत श्रीधर टन्डनले बताउनुभयो ।

उहाँका अनुसार हाल करदाता सेवा र राजस्वसम्बन्धी सेवा सञ्चालन गरिएको छ । कार्यालयले दाङसहित पूर्वी रुकुम, प्यूठान, रोल्पा जिल्लालाई सेवा प्रवाह गर्दै आएको छ । कार्यालयका ३५ हजार बढी करदाताहरु छन् ।


जेनजी आन्दोलनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रुपमा जलेर क्षति भएको छ, भने दुई वटा गाडी र कार्यालय भित्रका सबै सामग्री जलेर नष्ट भएका छन् । हाललाई उद्योग बाणिज्य संघले निःशुल्क रुपमा भवन उपलब्ध गराएको छ ।

केही समयपछि भवन भाडामा लिएर सेवा प्रवाह गर्ने प्रमुख टण्डनले बताउनुभयो ।