मुख्यमन्त्रीको कार्यालय भालुवाङ सारिया, ११ बजे मुल समितिको बैठक बस्दै

दाङ,२० मंसिर । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय स्थायी राजधानी भालुवाङ सारिएको छ । यस अघि अस्थायी मुकाम बुटवलबाट काम गर्दै आएको कार्यालयले अब भालुवाङबाटै काम थाल्ने छ । सोमबार राति नै बुटवलबाट सबै सामग्री दाङ ल्याईएको थियो ।

कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितका सामग्री ३ वटा ट्रकमा दाङ ओसारिएको हो । दाङको राप्ती गाउँपालिका वडा नं. ३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वति माविमा सारिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिबको कार्यालय र आवास गृह निर्माण कार्य भएको थियो । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आइतबारबाट मुख्यमन्त्री कार्यालले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ ।

वुटवल स्थित अस्थायी मुकाम बन्द गरिएको छ । यही हप्ता भित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको छ । आज(मंगलबार) दिउसो ११ बजेतिर राजधानी ब्यबस्थापन मुल समितिको बैठक बस्दैछ । त्यही बैठकले के–के गर्ने भन्ने छलफल हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

साथै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई भालुवाङमै सफत खुवाउने समेत तयारी गरिएको छ । प्रदेशसभा भवन समेत निर्माणको अन्तिम चरणमा छ ।


२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकावडा नं. १,२ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । जतिबेला एक बर्ष भित्र स्थायी मुकामबाट काम सुरु भनिएको थियो ।

२०५० सालमा स्थापना भएको राप्ती गाउँपालिका वडा नं. ५ स्थित राप्ती प्राबिधिक शिक्षालय १६ विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।