
रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोले पु¥याएको अपूरणीय क्षतिले सिङ्गो देशलाई स्तब्ध बनाएको छ। जलविद्युत् आयोजनाका सुरुङ, सडक, पुल र बस्तीहरू क्षणभरमै तहसनहस हुँदा जनधनको ठूलो क्षति भयो। विपद्लगत्तै सुरक्षा निकाय, स्थानीय बासिन्दा र अन्तर्राष्ट्रिय प्राविधिक टोलीहरूले जोखिमपूर्ण परिस्थितिमा देखाएको तदारुकता र समर्पण प्रशंसायोग्य छ। कठिन भूगोलका बाबजुद ड्रोन र हेलिकप्टरमार्फत चलाइएको खोजी तथा राहत अभियानले धेरैको ज्यान जोगाउन सफल भयो। तर, यो उद्धार अभ्यासले हाम्रा गम्भीर संरचनागत र प्राविधिक कमजोरीहरूलाई पुनः छर्लङ्ग पारेको छ।
सुरुङभित्र फसेका श्रमिकहरूको खोजीमा भएको प्रारम्भिक ढिलाइ र आवश्यक विशेषज्ञ उपकरणको अभावले हाम्रो विपद् व्यवस्थापन पूर्वतयारी कति कमजोर छ भन्ने देखाउँछ। पूर्वाधार निर्माण गर्दा विकासको आधुनिक मोडल पन्छाएर केवल भौतिक संरचनामा जोड दिइँदा ठूलो मूल्य चुकाउनुपरेको छ। नदी तटीय क्षेत्र र आयोजना स्थलहरूमा पूर्वसूचना प्रणाली र आपतकालीन उद्धारको पूर्वतयारी चुस्त नहुँदा क्षति झन् भयावह बन्न पुग्यो।
अबको प्राथमिकता खोजी र राहतमा मात्र सीमित हुनु हुँदैन। बेपत्ताको खोजीलाई तार्किक निष्कर्षमा पु¥याउँदै विस्थापितहरूको पुनस्र्थापना र पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउनु आवश्यक छ। यो घटनाबाट पाठ सिक्दै उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा बन्ने जलविद्युत् र भौतिक पूर्वाधारको डिजाइनमै वातावरणीय सुरक्षा र आपतकालीन उद्धारका संयन्त्र अनिवार्य गरिनुपर्छ। प्रकृतिले दिएको यो कडा चेतावनीलाई गम्भीरताका साथ लिई भविष्यका सम्भावित जोखिम न्यूनीकरण गर्न नीतिगत र व्यावहारिक सुधारतर्फ कदम चाल्नु नै अबको सही बाटो हो।



लाइभदाङ । ८ आश्विन २०८३, बिहीबार ०७:५५ बजे