तुलसीपुर उपमहानगरः आदेश विनै सामग्री खरिद, जलेको भन्दै भुक्तानी

तुलसीपुर, ०८ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले खरिद आदेश विनै सामग्री गरेको छ । सार्वजनिक खरिद ऐन अनुसार खरिद आदेशविना यसरी सामन खरिद गर्न मिल्दैन । तर, तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुखको सचिबालयकालागि भन्दै सामग्री खरिद ग¥यो । त्यो सामग्री खरिद गरेको केही दिनमा जेनजी आन्दोलन भएको र ती सामग्री जलेर नष्ट भएको भन्दै प्रतिवेदन बनाएर ति सामग्रीको भुक्तानी दिएको पाईएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले त्यसरी खरिद आदेश नभएका र जेनजी आन्दोलनको क्रममा जलेका ति सामग्रीको निर्णय गरेर भुक्तानी गरेको छ ।

कार्यपालिका निर्णय अनुसार साढे ६ लाखका त्यस्ता सामग्रीको भुक्तानी गरिएको छ । जसमा कम्प्युटर,फर्निचरलगायत रहेका छन् ।

जसमा प्रशासन शाखाका लागि डिजिटल कम्प्युटर तुलसीपुर दाङबाट १७ हजार बराबरको १ थान प्रिन्टर, राजस्व शाखा र प्रशासन शाखालागि ७९ हजार ३ सय ८० का दरले कुल रु. १ लाख ५८ हजार ७ सय ६० पर्ने २ थान डेल डेस्कटप तथा मीना योगी, कुन्ता भण्डारी र जिन्सी शाखाका लागि प्रतिथान ८७ हजार ५ सय २२ का दरले कुल २ लाख ६२ हजार ५ सय ६६ पर्ने ३ थान ल्यापटपको रकम भुक्तानी गर्ने निर्णय भएको छ ।


यसैगरी लक्ष्मी होम डेकोर तुलसीपुर दाङबाट प्रशासन शाखाका लागि प्रति स्क्वाएर फुट एक हजार ८ सयका दरले ३० स्क्वाएर फुटको कुल ५४ हजार मूल्य पर्ने फाइल ¥याक र नगर प्रमुखको कार्यकक्षका लागि प्रति स्क्वाएर फुट दुई हजारका दरले ८० स्क्वाएर फुटको कुल १ लाख ६० हजार पर्ने मोडुलर ¥याकको रकम भुक्तानी गर्ने कार्यपालिकाले निर्णय गरेको हो । कार्यपालिकाले निर्णय गरेसंगै उक्त रकम लेखाबाट भुक्तानी भएको छ ।

यद्यपी खरिद आदेश विना नै खरिद गरेका सामग्री जलेको भन्दै भुक्तानी दिने कार्य प्रक्रियागत रुपमा गलत रहेको स्रोतले बताएको छ ।