पेशा संरक्षण गर्न संगठित भए‘परियार’ समुदाय

तुलसीपुर, २२ असार । आफ्नो पेशा संरक्षण गर्न दाङको तुलसीपुर स्थित‘परियार’ समुदाय संगठित भएका छन् । यो समुदायको पुर्खादेखिको पञ्चेवाजा बजाउने पेशा पछिल्लो समय लोप हुने अबस्था छ । त्यस्तै यो समुदायका पुर्खाले कपडा सिलाएर आम्दानी गर्ने गर्थे ।

तर, अहिले यो पेशा पनि संकट हुन थालेको भन्दै संरक्षणकालागि संगठित भएका हुन् । परियार एकता समाज दाङ गठन गरेर यो समुदाय संगठित भएको अध्यक्ष निर्मल परियारले बताए ।“हाम्रो पेशा लोप हुने अबस्थामा छ, हाम्रा पुर्खाले गरेको पेशा अहिले अन्य समुदायले गरेर आम्दानी लिइरहनुभएको छ”,उनले भने “अब हामीले यसबाट आम्दानी लिन सक्नुपर्छ ।”

पुर्खाले बाजा बजाएकै कारण विभेद खेप्नु परेको भएपनि अहिले त्यो पेशा सबै समुदायले अंगालेर आम्दानी लिइरहेको दलित अगुवा करण परियारले बताए । उनले आफ्नो पुर्खाले गरेको पेशालाई अहिले अन्य समुदायले पनि आम्दानीको स्रोत बनाउँदा दलित समुदाय मुखदर्शक भएर हेर्नुपर्ने अबस्थाको अन्त्य हुनुपर्ने बताए ।“हाम्रा पुर्खाले विगतमा धान,गहुँसंग कपडा सिलाउने सीप साटेर जीवन चलाउने गरेका इतिहास छन्”,उनले भने “त्यसैले सिलाउने, बजाउने पेशालाई हामीले नै अगाडी बढाउनुपर्छ ।”

यसरी दलित समुदायले ब्यबसाय गर्न चाहेमा सरकारले सहजै ऋण दिने ब्यबस्था मिलाउनु पर्ने उनको भनाई थियो । पछिल्लो समय अन्य समुदायले पञ्चेवाजा बजाउने पेशालाई ब्यबसायिक रुपमा अगाडी बढाएका छन् ।तुलसीपुरमा एक सय बढि परियार समुदाय संगठित भएका हुन् ।


समाजले दाङ तुलसीपुरको बसपार्कमा भवन पनि निर्माण गरिसकेको छ । भवनको शनिबार उद्घाटन गरिएको हो । अध्यक्ष निर्मल परियारको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यमा कार्यक्रम गरि भवन उद्घाटन गरिएको हो । त्यस अवसरमा वडाध्यक्ष शाहले दलित समुदाय एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य यमुना परियार, वडा नं. ५ का सदस्य भिमबहादुर केसी,नेपाल सिलाई तथा कपडा ब्यबसयी समितिका सचिब तारा परियार,दलित अगुवा करण परियार, ज्ञान ज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरे, पत्रकार दिपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए । सल्लाहकार छबि परियारले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।