दंगीशरणमा आधारभूत अस्पताल सञ्चालनमा

दीपक बोहरा
दाङ, ९ असार ।
दाङको दंगीशरण गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ।आईतबार कार्यक्रम गरि अस्पतालको भवन तथा सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालको प्रतिनिधिसभा सदस्य दीपक गिरीले उद्घाटन गरेका हुन् । त्यस अवसरमा गिरीले आधारभूत अस्पतालले गाउँका जनतालाई स्वास्थ्य सेवा दिने अपेक्षा गरे । “कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्दैन”,उनले भने “यो अस्पतालले गाउँका जनतालाई सहज सेवा दिने छ ।”

वडा नं. ६ को बागरमा उक्त अस्पताल सञ्चालनमा आएको छ । यस अघि त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा थियो । अब भने १५ सैयाको आधारभूत अस्पतालबाट सेवा प्रवाह हुने पालिका अध्यक्ष सभ्भु गिरीले बताए । सरकारले सबै पालिकामा आधारभूत अस्पताल बनाउने अवधारणा अनुसार दंगीशरणले पनि उक्त अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । १२ करोड ५७ लाखमा भवन निर्माण भएपछि अस्पताल सञ्चालनमा आएको अध्यक्ष गिरीले बताए ।

उनका अनुसार अस्पतालमा हाल तीन जना डाक्टर छन् । एम.डी. एक जना र एमविविएस दुई जना डाक्टर छन् । हाल २४ सै घण्टा आपतकालिन सेवा, बहिरंग सेवा, ल्याब, डिजिटल एक्सरे,, भिडियो एक्सरेसहित आधारभूत सबै खालका स्वास्थ्य सेवा तथा खोपको सेवा सञ्चालनमा रहेको डा. सुवोध अधिकारीले बताए ।


अस्पतालको भवन र सेवा औपचारिक रुपमा आईतबार उद्घाटन गरिएको हो । यद्यपी सेवा भने केही दिन अघि देखि नै सुरु भएको थियो । अस्पतालले सेवा दिन थालेपछि दैनिक ५० जना विरामीहरु उपचारकालागि आउने गरेको डा. अधिकारीको भनाई छ ।“सेवा हामीले केही दिन अघि देखि नै दिन थालेका थियौं”,उनले भने “अहिले दैनिक ५० जना भन्दा बढि विरामीहरु उपचारकालागि आउनु गर्नुभएको छ ।”

अस्पताल निर्माणकालागि स्थानीयले ५ विघा ३ कठ्ठा जग्गा दान गरेका थिए । स्थानीय गोपाल थापा,रामबहादुर डाँगी र खड्गबहादुर डाँगीको परिवारले उक्त जग्गा दान गरेका हुन् । सोही अस्पताल चार स्थानीय तहको पायक पर्ने ठाउँमा पनि छ । दंगीशरणसहित तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर र बबई गाउँपालिकाको पायक पर्ने स्थानमा रहेको छ । यी स्थानका नागरिकलाई दंगीशरण अस्पतालले सेवा दिन सक्ने लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य शंकर गिरीले बताए ।

त्यस अवसरमा प्रदेशसभाका पूर्व सदस्य धमकली चौधरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमाेद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबदुर खत्रीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले गरेका थिए ।