दाङ उवासंघ निर्वाचन : एमालेद्वारा शरद अधिकारी र अनिल आचार्य कारवाहीमा

दाङ,७ असोज ।
दाङ उद्योग वाणिज्य संघको असोज ११ मा हुने निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै नेकपा एमाले दाङ जिल्ला कमिटीले आफ्ना दुई जना सदस्यलाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ।

एमाले दाङ जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिअनुसार घोराही उपमहानगरपालिका–१० का एमाले सदस्य अनिल आचार्य र घोराही–१५ का सदस्य शरद अधिकारीलाई कारबाही गरिएको हो। अधिकारी प्रेस काउन्सिलको सदस्य पनि भएर काम गरेका थिए । अधिकारीले घोराहीबाट राप्ती पोष्ट दैनिक पत्रिका चलाउदै आएका छ्न ।

दाङ उद्योग वाणिज्य संघको निर्वाचनमा ध्रुवकुमार गहतराजको नेतृत्वमा रहेको साझा व्यावसायिक प्यानलबाट उम्मेदवारी बन्ने निर्णय गरिएकोमा त्यस निर्णयविपरीत आचार्यले अध्यक्ष र अधिकारीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको एमालेको भनाइ छ।


पार्टीले जारी गरेको विज्ञप्तिमा दुवै जनाले पार्टी विधानको धारा ४८ बमोजिम पार्टी अनुशासन उल्लंघन गरेको, पार्टी निर्णयको विपक्षमा गतिविधि गरेको तथा विपक्षीहरूसँग साँठगाँठ गरी साझा व्यावसायिक प्यानलको उम्मेदवारविरुद्ध प्रत्यक्ष भूमिका खेलेको उल्लेख गरिएको छ।

एमालेका अनुसार पार्टी नेतृत्वले दुवै जनालाई उम्मेदवारी फिर्ता लिन अनुरोधसहित पत्राचार गर्नुका साथै पार्टी बैठकमार्फत समेत संवाद र सहमतिको प्रयास गरेको थियो। तर, पार्टीको आग्रहलाई बेवास्ता गर्दै उम्मेदवारी कायम राखेकाले गम्भीर अनुशासन उल्लंघन गरेको निष्कर्षसहित कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ।

जिल्ला कमिटीले अनिल आचार्य र शरद अधिकारीलाई आजकै मितिदेखि लागू हुने गरी पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरिएको जनाएको छ।