
तुलसीपुर, ११ असार ।
बिनियोजित बजेटको बिषयमा ब्यापक असन्तुष्टि ब्यक्त भएपछि लुम्बिनी प्रदेश सभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ। बुधबारपनि बैठक बस्न सकेन । बिहीबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएपनि सांसदहरुले बजेट प्रति तीब्र असन्तुष्टि जाहेर गरेपछि बैठक बस्न नसकेको हो । बैठक बस्नु भन्दा एक घन्टा पहिले नै प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बिहीबार सूचना जारी गर्दै अनिश्चित कालका लागि बैठक स्थगित गरिएको जनाएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको आग्रहमा सभामुख तुलाराम घर्ती मगरले अनिश्चित कालका लागि बैठक स्थगित गर्न निर्देशन गरेको स्रोतले जनाएको छ ।
प्रदेशसभाको आठौँ अधिवेशनको ११औं बैठकमा बिनियोजित बजेट बारे दफाबार छलफल हुने कार्यक्रम थियो । बजेट बिनियोजनमा बिभेद गरेको भन्दै सांसदहरुले तीब्र बिरोध गर्दैै बजेट पुनराबलोकन गर्न माग गरेका कारण बैठक बस्न नसकेको हो । लुम्बिनी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।



लाइभदाङ । ११ असार २०८३, बिहीबार १३:१० बजे