दाङ, ७ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहिरा व्यक्तिको पहिचान, शिक्षा तथा विकासको लागि प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार बहिरा महासंघका केन्द्रीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यलाई भेट गरेको छ । सो क्रममा मुख्यमन्त्री आचार्यले समावेशी शिक्षा र सांकेतिक भाषालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तर्जमा गर्ने बताउनु भयो । ‘बहिरा नागरिकको हक अधिकार राज्यले सम्बोधन गर्छ’ उहाँले भन्नुभयो ‘बहिरा नागरिकको पहुँच बढाउन ध्यान दिन्छौं ।’
यसैबीच बहिरा नागरिकहरुको राष्ट्रिय भेला हुने भएको छ । मुख्यमन्त्री आचार्यलाई राष्ट्रिय भेलाको बारेमा जानकारी गराइएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा मंसिर २८ गते राष्ट्रिय भेला र रजत महोत्सव गर्न थालिएको हो । ५४ वटा जिल्लामा बहिरा संघ छ । ७ वटा प्रदेशमा छ समिति बनेका छन । बहिरा महासंघका केन्द्रीय अध्यक्ष सन्तोष केसी, लुम्बिनी प्रदेशका अध्यक्ष रिन्कु गुप्ता, जिल्ला अध्यक्ष लगायतको टोलीले मुख्यमन्त्री आचार्य र सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना संग भेट गरेको थियो ।
लाइभदाङ । ७ मंसिर २०८१, शुक्रबार १९:०१ बजे